कसको हालत के हुन्छ भन्ने आउने चुनावमा देखिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसको हालत के हुन्छ भन्ने आउने निर्वाचनमा देखिने बताएका छन् ।

नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए । त्यसपछि आफूले संसदमा बोल्दा आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेर चेतावनी दिएको स्मरण गर्दै प्रचण्डले भनेका छन्, ‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो, छ वटै प्रदेशमा मुख्यमन्त्री चट भयो ।’

उनले अघि भने, ‘कसको हालत के हुन्छ आउने निर्वाचनमा देखिने छ ।’

एमालेतिर संकेत गर्दै प्रचण्डले अवसरवादीहरु पार्टी प्रवेशका नाममा गाउँगाउँमा केही मान्छेको सिला खोज्दै हिँडेको बताए । उनले अघि भने, ‘सुनारको सय चोट, लोहारको एकै चोट भन्छन् । आज हामीले लोहारको एकै चोट हान्यौं ।’

नेकपा मसाल सम्पर्क केन्द्रसँग गरेको पार्टी एकता गणतीय मात्र नभई ज्यामितिय हुने उनको तर्क छ । अहिले माओवादीको संगठन सदस्य ८ लाख बढी रहेको भन्दै प्रचण्डले भने, ‘अब यो १० लाखभन्दा बढी भएर अगाडि बढ्छ ।’

९,पुष.२०७८,शुक्रबार १५:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्