जनकपुरधाम । प्रदेश २ मा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत भएको छ ।
आइतबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको चौथो बैठकमा बहुमत सांसदले प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेशलाई स्वीकृति दिएको हो । सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमत सांसदले स्वीकृति दिएका हुन् ।
यसअघि यो विधेयकलाई अस्वीकृत गर्न विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदले प्रस्ताव पेश गरेका थिए । तर, यो प्रस्ताव अस्वीकृत भयो ।
यसअघि ८ पुसमा बसेको प्रदेश सभा बैठकमा कृषि विश्वविद्यालय सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।
राजविराजमा कृषि र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न केहि दिनअघि प्रदेश सरकारले अध्यादेश ल्याएको थियो ।
राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना भइसकेको छ भने बीरगंजमा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्