पोखरा । स्याङ्जाकी रुमी मगर पोखरा बसेर पढ्दै छिन् । मध्यमवर्गीय परिवारकी उनी पढाइ खर्च जुटाउन जागिरको खोजीमा थिइन् । एक वर्षअघि उनलाई गाउँकै एकजना चिनजानकी दिदीले ‘ग्लोबल ओरियन्स’ नामक कम्पनी पोखरामा खुलेको र त्यसैमा लाग्न सुझाव दिइन् ।
रुमी मगर पोखरा नयाँबजारमा खुलेको ओरियन्सको शाखामा पुगिन् । त्यहाँ उनीजस्तै सयौं युवायुवती लामबद्ध थिए । आयुर्वेदिक औषधि बेच्ने भएकाले काम पनि राम्रै र अरु साथीहरुलाई पनि काममा जोड्न सके थप ‘बोनस’ पाउने आशा देखाएपछि उनी आकर्षित भइन् ।
तर, सामान बेच्न सुरुमा प्राथमिक तालिम लिनुपर्छ भन्दै उनीसँग १३ हजार ५ सय रुपैयाँ मागियो । अफिसमा बसेर लाखौं कमाउने सपना बुनेकी उनले ग्लोबल ओरियन्स सञ्चालकलाई जसोतसो जुटाएर मागेजति रकम दिइन् । तालिम आवेदन फर्मवापतको ७ सय रुपैयाँ शुल्क बुझाएर २ दिन तालिममा बसिन् पनि । तर, अहिलेसम्म कामका लागि फोन आएको छैन ।
‘हेल्थ सेक्टर रैछ । राम्रो रैछ भनेर दिदीले भनेपछि पत्याएँ । मलाई पनि काम चाहिरहेको थियो । त्यसमाथि साथीहरु ल्याएपछि बोनस आउँछ भनियो । एकजनाले कम्तीमा ३ जना मान्छे ल्याउनुपर्छ भनियो,’ रुमीले अनलाइनखबरसँग भनिन्, ‘तर, एक वर्ष भइसक्दा पनि वास्तापास्ता छैन । दिएको पैसा पनि फिर्ता आएन ।’
तहअनुसार तालिमका लागि पैसा तिर्नुपर्ने र उनी पहिलो तहमा रुची देखाएकाले मात्रै उनले साढे १३ हजार बुझाएकी हुन् । उनीजस्तै धाडिङकी निशा थापा मगरले दोस्रो तहका लागि ३५ हजार रुपैयाँ बुझाएकी थिइन् । उनले ‘वेल्कम बोनस’का नाममा एकहजार रुपैयाँ बाहेक अहिलेसम्म एक पैसा नपाएको गुनासो गरिन् ।
‘त्यहाँ हामीजस्तै टन्नै मान्छे थिए । नपत्याउने पनि कसरी ? विदेश पनि लैजान्छौं भनेका थिए । उनीहरुले भनेको पैसा नपाएपछि घरमै आएर पैसा माग्न थाले,’ निशाले गुनासो गरिन् । उनी साथीको माध्यमबाट संस्थासँग जोडिएकी हुन् ।
धाडिङकै सुजय तामाङले जागिर पाउने लोभले नै १ लाख १५ हजार रुपैयाँ बुझाएको बताए । ‘पैसा बुझाएको ८ महिना भइसक्यो । जागिर त कता हो कता उल्टै ठगिएँ,’ उनले भने । सामान्य आर्थिक अवस्थाका बुवाआमासँग लिएको रकम गुमाउनुपर्दा आफूलाई मानसिक तनाव भएको सुजयले सुनाए ।
ग्लोबल ओरियन्सले पहिलो तहको तालिमका लागि १३ हजार ५ सय, दोस्रो तहका लागि ३५ हजार र तेस्रो तहका लागि १ लाख १५ हजार रुपैयाँ प्रतिव्यक्ति उठाएको पीडितले बताएका छन् । तालिमपश्चात सुरुमा उनीहरुलाई विभिन्न सामान बेच्न लगाइएको तर, ती सामान पनि म्याद गुज्रिएको पीडितको भनाइ छ ।
एक वर्षसम्म आफूहरु कम्पनीले जागिरमा बोलाउने आशामै बसेको तर, तिहारपछिमात्रै आफूहरु ठगिएको चाल पाएको उनीहरुले बताएका छन् । ‘गएको तिहारमा सँगै भैलो खेल्यौं । भैलोबाट एक लाख रुपैयाँ उठाएर सञ्चालकहरु सम्पर्कविहीन भएपछि बल्ल चाल पायौं,’ उनीहरुले भने ।
उनीहरुले आफूहरुजस्तै पोखरा, स्याङ्जा, बागलुङ, बुटवललगायत ठाउँका एक हजार जनाभन्दा बढी युवायुवती ठगीमा परेको बताएका छन् । आफूहरुलाई सामान बिक्री गरेजस्तै ‘स्टार’ पाउने र सोही अनुसार नगद बोनससहित, स्मार्टफोन, ल्यापटपलगायतको लोभसमेत देखाएर ठगी गरेको जनाएका छन् ।
कम्पनीले बेरोजगार किशोरकिशोरीलाई लक्षित गरी नेटवर्किङ धन्धा चलाएको पीडितले आरोप लगाएका छन् । ‘केही सिनियर दाइदिदीहरु पनि थिए । तर, धेरै मजस्तै १८/१९ वर्षका थियौं । ठूलो लगानी गरेर व्यवसाय गर्न सक्दैनौं नि त,’ निशाले भनिन्, ‘त्यसैले हामीलाई नै फसाइयो ।’
काठमाडौं महानगरपालिका १६, बालाजुको शाखाको रुपमा नयाँ बजारमा सोही नामबाट खुलेको थियो । तर, अहिले उक्त शाखा बन्द गरेर सञ्चालक भागिसकेको पीडितले बताएका छन् । ओरियन्सको पोखरा, न्युरोड शाखा राजु परियार र ईश्वर परियारले सम्हाल्दै आएको उनीहरुले जानकारी दिएका छन् ।
आफूहरु ठगीविरुद्ध उजुरी दिने भनेपछि राजु परियारले आफू बिरामी भएको र त्यसो नगर्न धम्कीपूर्ण म्यासेज पठाएकोसमेत रुमीले जानकारी दिइन् । ‘तपाईं त नाइके रै’छ । यस्तो नगर्नू भनेका छन्,’ उनले भनिन् ।
उक्त संस्थाकै शाखाका रुपमा पोखरा, न्युरोडसँगै रामबजारमा पनि कार्यालय खोलेको तर, अहिले हटाइसकेको पीडितले बताएका छन् । आइतबार उनीहरुले ग्लोबल ओरियन्सबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीमा निवेदन दिएका छन् ।
कम्पनीले आफ्नो वेबसाइटमा राखेको जानकारी र प्रमाणपत्र अनुसार संस्था एक वर्षअघिमात्रै खुलेको देखिएको छ । उल्लेखित प्रमाणपत्रअनुुसार कम्पनी ०७७ जेठ २६ गतेमात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
कम्पनीले आफ्नो वेबसाइटमा राखेको काठमाडौं महानगरपालिकामा व्यवसाय दर्ता प्रमाणपत्रलाई आधार मान्ने हो संस्थाले खाद्यवस्तु तथा कस्मेटिक वस्तुहरुको आयात निर्यात गर्ने गरी दर्ता गरेको छ । उक्त कागजातमा संस्थाको मुख्य व्यक्तिका रुपमा बसन्त पण्डित उल्लेख गरिएको छ । वेबसाइटमा राखिएको प्रमाणपत्रअनुसार संस्थाले पोखरामा उक्त संस्था सञ्चालनका अनुमति लिएको पनि देखिँदैन ।
संस्था र ठगीबारे आएका गुनासोबारे जानकारी लिन खोज्दा कम्पनी प्रतिनिधिसँग सम्पर्क हुन सकेन । पोखरा न्युरोड शाखाका राजु, ईश्वर परियार दुवै, र काठमाडौं प्रतिनिधिसँग अनलाइनखबरले सम्पर्क गर्दा फोन स्वीच अफ गरिएकाले सम्पर्क भने हुन सकेन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले उजुरी दर्ताको प्रक्रियामा रहेको जानकारी दिएका छन् । उनले हालसम्म प्राप्त जानकारी अनुसार ग्लोबल ओरियन्सको नाममा व्यक्तिहरु ठगिएकै देखिएको तर, पीडितले प्रमाण जुटाउन नसकेको सुनाए ।
‘अहिलेसम्मको प्रकृति हेर्दा ठगिएकै देखिएको छ । तर, उहाँहरुसँग पैसा बुझाएको प्रमाण पनि रहेनछ । समाचारमा आइसकेर पब्लिक इस्यू भइसकेपछि अरु पनि आउनुहुन्छ होला !’ डीएसपी तिवारीले भने, ‘कसैले प्रमाण लिएर आउनुहुन्छ भने दर्ता हुन्छ ।’ संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत् रुपमा दर्ता भएको देखिए पनि त्यसमा अनुसन्धान गरिने उनले बताए ।
पोखराको रामबजारस्थित ग्लोबल ओरियन्सकै प्रतिनिधिका रुपमा रहेका विजय गुरुङले भने नयाँबजार शाखासँग आफूहरुको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । उनले नयाँबजार शाखाले कम्पनीसँग स्वीकृति पनि नलिएकाले अनधिकृत रहेको जिकिर गरे ।
गुरुङले आफूहरुमात्रै पोखरामा रही गण्डकी प्रदेश हेरिरहेको र ‘धन्दा’ नचलाएको सुनाए । ‘हामी नै गण्डकीको एकमात्रा शाखा हौं । त्यहाँ (नयाँबजार) को कम्पनीले कसरी काम गरिरहेको छ थाहा भएन,’ उनले भने, ‘हामीले कसैबाट पैसा उठाएर ठगेका छैनौं ।’
प्रतिक्रिया दिनुहोस्