भारतमा कोभिडः एकै दिन २७ हजार ५५३ संक्रमित, मास्क नलगाउनेलाई जरिमाना

एजेन्सी । भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रीय संक्रमित छन् । देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितको संख्या बढेको छ । दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।

त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन् ।

यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध लागु गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारु जरिमाना तोकिएको छ ।

१८,पुष.२०७८,आईतवार १३:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्