
काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरिएन्ट छिमेकी राष्ट्र भारतका विभिन्न सहरमा फैलिन थालेको देखिएसँगै इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप सतर्कता अपनाउन जिल्ला, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।
‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरिएन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिन्छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महाशाखाले कोभिड-१९ का केसहरु बढ्न नदिन विगतमा झैं जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्नुका साथै समुदायमा रहेका जोखिम क्षेत्रहरु (हटस्पट) पत्ता लगाई एन्टिजेन किटद्वारा परीक्षण गरेर परीक्षणको दायरा बढाउनसमेत आग्रह गरेको छ ।
महाशाखाले सबै तहले आ-आफ्नो स्तरमा संक्रमण नियन्त्रणका लागि विगतमा जस्तै संक्रमितहरुको पहिचान, आइसोलेसन तथा उपचारमा ध्यान दिनुपर्ने ईडीसीडीले बताएको छ ।
महाशाखाले सीमा नाकामा रहेका प्रवेश विन्दुहरुबाट प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । यसका साथै खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान तथा कोभिड-१९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न पनि स्थानीय निकाय, जिल्ला र प्रदेशलाई महाशाखाले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्