काठमाडौँ । फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार मंगलबार सिरिन्ज आइपुगेको हो ।
महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले मंगलबार २:५० को फ्लाइटमा सिरिन्ज नेपाल आइपुगेको जानकारी गराए ।
खोपका लागि आवश्यक पर्ने घोलक भने गत बुधबार नै आइसकेको छ । उनले भने–‘घोलक आइसक्यो । सिरिन्ज पनि आइपुगेको छ । अब खोप अभियान पनि छिट्टै सुरु हुनेछ ।’
सरकारले ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने जनाएको थियो । ६ लाख ६४ हजार ५६० मात्रा खोप आएपनि समयमा घोलक र सिरिञ्ज नआएपछि खोप अभियान स्थगन हुन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्