गृह मन्त्रालयमा साइबर सुरक्षाबारे छलफल

काठमाडौं । गृह मन्त्रालयले साइबर सुरक्षाबारे सरोकारवाला निकायसँग छलफल गरेको छ । साइबर सुरक्षामा बढ्दो चुनौती तथा जोखिम न्यूनीकरणको अवस्था, नेपालमा हुने साइबर आक्रमणको प्रवृत्ति, साइबर सुरक्षाका समस्या र समाधानको उपायका विषयमा छलफल भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले साइबार सुरक्षा क्षेत्रमा विद्यमान कानूनी व्यवस्था, मन्त्रालयबाट भएका साइवर सुरक्षासम्बन्धी मुख्य काम र भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।

गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भूसालले सरकारी निकायमा प्रयोग र निर्माण हुने सफ्टवेयरका न्यूनतम मापदण्ड तोक्नुपर्ने, सूचना व्यवस्थापन प्रणालीहरूको लेखापरीक्षण अनिवार्य रूपमा गराउनुपर्नेलगायतका विषय औंल्याएका थिए ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले साइबर अपराधका विषय, अनलाइन माध्यमको नियमनका लागि नियामक निकाय पहिचान र तिनका भूमिका परिभाषित गर्नुपर्ने बताए ।

साइबर सुरक्षाको विषय प्रभावकारी बनाउन मन्त्रालयले नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालको संयोजकत्वमा १० सदस्यीय समिति पनि गठन गरेको छ ।

२०,पुष.२०७८,मंगलवार १८:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्