काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र आगामी स्थानीय तहको निर्वाचन सुरक्षाका विषयमा छलफल भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्धिपक्षीय सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौलालगायत सहभागी गराए ।
बैठकमा गृहमन्त्री खाणले अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख गणेश अधिकारीलाई बिदाई गरे भने नवनियुक्त प्रमुख यदु खरेललाई बधाइ दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्