चितवन मेडिकल कलेजमा छैठौं कलेजो प्रत्यारोपण

चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण गरिएको छ ।

पुस ४ गते आइतबार, कैलालीको धनगढी उपमहानगरपालिका– १९ का ३८ बर्षका जीवन पुजराको कलेजो प्रत्यारोपण सफल भएको कलेजले जनाएको छ । सन् २०२१ मा नेपालमा गरिएको यो पहिलो कलेजो प्रत्यारोपण भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

जीवनलाई उनका भाइ ३२ बर्षका कृष्ण पुजराले कलेजो दान गरेका थिए । भारतको नयाँ दिल्लीस्थित एपोलो का डा.निरभ गोयल, डा.अरुणकुमार र डा. रमन रानासहित नेपाली चिकित्सक तथा स्वाथ्यकर्मीहरुको टिमले १२ घण्टा लगाएर जीवनको कलेजो प्रत्यारोपण गरेको हो ।

प्रत्यारोपणमा कलेजका विशेषज्ञ चिकित्सकहरू सर्जन डा.सञ्जय यादव, डा. प्रवीण जोशी, डा. जयन्तकुमार साह, डा. गौरव कट्टेल डा. सरोज ढुङ्गाना, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, डा. सुरेश गौतम डा. नवीन यादव, हेपाटोलोजिष्ट डा. सागर पौडेल, डा. बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा. विज्ञान पौडेल, डा. सुभास ओझा, डा. प्रदेश घिमिरे र स्टार्फ नर्सहरु सहभागी थिए ।

पुजराको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएको र प्रत्यारोपणको विकल्प नभएकोले प्रत्यारोपण गरिएको प्रत्यारोपण सर्जन डा. सञ्जय यादवले जानकारी दिए ।

पूजराले करिब एक वर्षदेखि नेपालका विभिन्न अस्पतालमा कलेजोसम्बन्धी नियमित जाँच गराउँदै आएका थिए । रगत प्रवाह हुने दुबै तिरको नशा बन्द भएको अवस्था कलेजो प्रत्यारोपणका लागि जटिल मानिन्छ ।

भाइ कृष्णको ६० प्रतिशत कलेजो काटेर दाइ जीवनमा प्रत्यारोपण गराई नयाँ जीवन दिइएको डा. यादवले बताए । पुरुषले दिएर पुरुषकै कलेजो प्रत्यारोपण गरिएको कलेजमा पहिलो केस भएको डा.यादवले बताए ।

कलेजो दान गर्ने जीवनका भाइ कृष्ण पनि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । जीवनलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी छ । कलेजो आफंै विकसित हुने अंग भएकोले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै यो बिरामीको पेटमा आफैं विकसित हुन्छ ।

यसअघि चितवन मेडिकल कलेजमा पाँच जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । तीमध्ये २०७८ असोज ५ गते प्रत्यारोपण गरिएका भरतपुर महानगरपालिका वडा नं. ६ निवासी बोधराज पौडेलको असोज ६ गते मृत्यु भएको थियो ।

प्रत्यारोपण सर्जन डा. यादवका अनुसार प्रत्यारोपण गरिएका १० प्रतिशत बिरामीको मृत्यु हुनसक्छ । ‘प्रत्यारोपण नगर्दा पनि मृत्यु हुनसक्छ, नगर्दा पनि हुन सक्ने अवस्था भएपछि जोखिम उठाउनुपर्ने हुन्छ’ डा.यादवले भने ‘कहिलेकाहीँ यस्ता घटनाहरु हुन्छन्, कलेजो प्रत्यारोपण शत प्रतिशत सफल हुँदैन, सर्जिकल र मेडिकल दुबै कारणले मृत्यु हुन सक्छ ।’

कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानले देशभित्र नै प्रत्यारोपण हुँदा भारत जानुपर्ने, भौतारिनुपर्ने, दुःख, कष्ट र हैरानी झेल्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए । उनले सरकारले मृगौलाका विरामी तथा मृगौला प्रत्यारोपणमा जस्तै कलेजो प्रत्यारोपणमा पनि बिरामीलाई उपचारमा सहयोग गर्नुपर्ने बताए ।

अहिले चितवन मेडिकल कलेजले कलेजो प्रत्यारोपणका लागि औषधीबाहेक १५ लाख रुपैयाँ लिँदै आएको छ ।

२३,पुष.२०७८,शुक्रबार १४:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्