काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

आजदेखि काठमाडौं जिल्लाका इलाका प्रशासन कार्यालय र सबै स्थानीय तहबाट राष्ट्रिय परिचय पत्रको सेवा दिइने

4.13K
shares
khanepani bord

काठमाडौं । आजदेखि काठमाडौं जिल्लका इलाका प्रशासन कार्यालय र सबै स्थानीय तहबाट पनि राष्ट्रिय परिचय पत्रको सेवा दिइने तयारी भएको छ ।

राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतका ठाउँमा भीडभाड बढिरहेका बेला उक्त भिडलाई कम गर्नका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले स्थानीय तहबाटै सेवा दिने तयारी गरेकाे हो ।

सेवाग्राहीलाई सम्भवभएसम्म आफ्नै जिल्लाबाट सेवा लिन पनि विभागले आग्रह गरेको विभागका निर्देशकसमेत रहेका उपसचिव ललितकुमार बस्नेतले जानकारी दिए । ‘पालिकास्तरबाटै सेवा दिन लागिएकाले जिल्ला प्रशासन काठमाडौंमा भीडभाड गर्न जरूरी छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड भएको हुनाले आइतबारदेखि काठमाडौंका पालिकास्तरबाट नै दर्ता प्रविष्ट (लाइभ इनरोलमेन्ट) गर्दैछौं,’ बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

राष्ट्रिय परिचय पत्र अत्यावश्यक नभएकाले हतारमा नबनाउन पनि विभागले सबै सेवग्राहीलाई विज्ञप्तीमार्फत नै आग्रह गरेको छ । ‘राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोले भीडभाड बढेको हो। राहदानी बनाउनेले मात्रै अहिले परिचय पत्र लिए हुन्छ । अरूका हकमा पछि टोली प्रत्येक वडामै पुग्ने भएकाले अत्यावश्यक नभएकाहरूले राष्ट्रिय परिचय पत्र बनाउन अहिले भीडभाड गरिरहनु पर्दैन।’

विभागले ७७ जिल्लाबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएकोले अहिले काठमाडौंमा भीडभाड नगर्न अनुरोध गरेको छ । राहदानी विभागले मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेको छ । राहदानी बनाउन राष्ट्रिय परिचय पत्र नम्बर चाहिने भएपछि सिंहदरबार, जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरलगायत ठाउँमा पछिल्लो समय भीडभाड बढिरहेको छ ।

७७ जिल्ला प्रशासन कार्यालय र १७ इलाका प्रशासन कार्यालयबाट लाइभ इनरोलमेन्टको काम भइरहेकोले एकै ठाउँमा केन्द्रीत नहुन विभागको आग्रह छ । ‘अहिले भीडभाड देखिनुको कारण विद्युतीय राहदानी लागू भएर हो। धेरैजसो मानिसहरु विद्युतीय राहदानी बनाउन काठमाडौं आउछन् । राष्ट्रिय परिचय पत्र बनाउन फेरि जिल्ला जानु नपरोस् भनेर हामीले काठमाडौं उपत्यकामा २५ स्टेशनबाट सेवा दिएको हो ।’ विभागका निर्देशक बस्नेतका अनुसार राहदानी विभागमा १० स्टेशन, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ९ स्टेशन, ललितपुर जिल्ला प्रशासनमा ५ स्टेशन र भक्तपुरका एउटा स्टेशज थप गरिएको छ।

‘अन्यत्र भीडभाड नभए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अझै भीडभाड बढिरहेकाले आजदेखि स्थानीय तहबाटै सेवा दिन लागेका । अब काठमाडौं प्रशासनमा भीडभाड गर्न जरूरी छैन।’ यस अघि ७७ जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिन सकिने व्यवस्था भए पनि ति कार्यालयबाट विद्युतीय राहदानीको आवेदन लिने सेवा सुरू नहुँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीडभाड बढिरहेको हो ।

विभागका अनुसार २५ वटा जिल्लामा वडा स्तरबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सम्पन्न भइसकेको छ भने १३ वटा जिल्लामा विवरण संकलन अभियान सञ्चालन भइरहेको छ । अहिलेसम्म ५२ लाख नागरिकको वैयक्ति तथा जैविक विवरण संकलन कार्या सम्पन्न भइसकेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

IME
khanepani