काठमाडौं उपत्यकामा खोप लगाउनेको भीड

काठमाडौं । पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यका लगायत विभिन्न खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ । विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड लाग्ने गरेको छ ।

मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउनेहरुको ठूलो भीड लागेको थियो । खोप लगाउनेहरुमा सरकारी कर्मचारी, जेष्ठ नागरिक, युवा र वैदेशिक रोजगारीमा जानेहरु रहेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिकस्थल (होटल, सिनेमा हल, रेस्टुरेन्ट, पार्किङ)मा प्रतिबन्धात्मक व्यवस्था लागू गरेपछि खोप लगाउनेहरु बढेका हुन् ।

खासगरी काठमाडौं उपत्यकाका साथै सीमा नाकाहरुमा संक्रमितको संख्या बढ्दो छ । औसतमा समग्र देशभरमा पनि संक्रमण दर ९.५ प्रतिशत पुगेको छ । डेल्टा भेरियन्ट कायमै रहेको र ओमिक्रोन भेरियन्ट समुदायमा पुगेकाले अबको एक महीना संक्रमण अझ बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ ।

कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

२७,पुष.२०७८,मंगलवार १७:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्