काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले प्रदर्शन गरेका छन् ।
बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताए । ‘हाम्रो आन्दोलन भविष्य अनिश्चितकालसम्म छ । जबसम्म चोलेन्द्र समशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ’ उनले भने ।
अधिवक्ता रामचन्द्र शिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको शुरुवात गर्न सहयोग गरेको बताए । न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्न आन्दोलन भइरहेको पनि धारणा राखे ।
‘न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि नेपाल बारले आन्दोलन गरिरहेको हो । नेपाल बारको आन्दोलनले केही उपलब्धी हासिल गरिसकेको छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्