कर्णालीमा एमालेको आरोप : गठबन्धन टिकाउन राज्यस्रोतको दुरुपयोग गरियो

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरुपयोग भइरहेको आरोप लगाएका छन् ।

बुधबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा उनले गठबन्धन टिकाउन झ्याल झ्यालमा मन्त्रालयका साइन बोर्डहरु टाँसिएको टिप्पणी गरे । ‘सरकार व्यवहारमा नभई अभिलेखमा भेटिन थालेको छ, दुई महिना बित्यो तर न मन्त्रिपरिषले पूर्णता पाएको छ, नत केही अनुभूति गर्ने गरी काम गर्न सकेको छ’ उनले भने,‘गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरुपयोग गरिरहेको छ ।’

सरकारले परिणाममुखी भन्दा वितरणमुखी बजेट र योजना ल्याएको भन्दै नेता कँडेलले कुन मन्त्रालयका कति योजना वितरणमुखी छन् त्यसको संसदमा जानकारी दिन माग गरे । ‘प्रदेश सरकारले अहिले ५–१० लाखका टुक्रे योजना बाँड्दै हिँडिरहेको छ । यस्ता योजना कसरी अनुगमन गरिन्छ ? कस्तो परिणाम दिन्छ ? सरकारी स्रोत साधनलाई प्रयोग गरेर पार्टीका कार्यकर्ता बढाउन खुलेआम प्रयोग गर्न मिल्छ कि मिल्दैन ?’ उनले प्रश्न गरे ।

सरकारले वितरण गरेका योजना समाजमा नभई सिधै नेता, कार्यकर्ताको झोलामा र घरमा जाने गरेको उनको आरोप छ ।

नेता कँडेलले प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको पनि बताएका छन् । ‘मुख्यमन्त्री रोजगार कार्यक्रमको नाममा कार्यकर्तालाई दान दिने गरिएको छ । त्यो कार्यविधिमै प्रष्ट देखिन्छ’ उनले भने ।

पूर्वाधार विकास कार्यक्रमको कार्यविधि पनि मुख्यमन्त्री केन्द्रित बनाएको भन्दै उनले आपत्ति जनाए । उक्त कार्यक्रम वितरणमुखी भएको भन्दै त्यसमा नयाँ मुख्यमन्त्री जीवनबहादुर शाहीको उनले ध्यानाकर्षण गराए ।

नेता कँडेलले मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षलाई ‘वाइपास’ गर्न खोजेको आरोप लगाए । ‘हाम्रो महाधिवेशन पूर्व निर्धारित, पूर्व प्रचारित थियो । त्यो सरकारलाई थाहा भएकै कुरा थियो । तर पनि त्यही समय पारेर विश्वासको मत लिइयो । अनि प्रतिपक्ष सहभागी नभएको भन्दै गलत प्रचार गरियो,’ उनले भने ।

बैठकमा माओवादी केन्द्रको तर्फबाट सांसद ठम्मर विष्ट, कांग्रेसको तर्फबाट यज्ञ बिसीले र नेकपा एकीकृत समाजवादीको तर्फबाट देवी ओलीले आफ्नो भनाइ राखेका थिए । बैठक माघ २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

२८,पुष.२०७८,बुधबार १७:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्