श्रीमतीको हत्या गरी जलाएर फरार अभियुक्त ७ वर्षपछि पक्राउ

बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिका-६ स्थित श्रीनगरमा पत्नीलाई हत्या गरेर आगो लगाएर भागेका युवक ७ वर्षपछि पक्राउ परेका छन् ।

भारतको सिद्धार्थनगर जिल्लास्थित ग्राम धन्सा घर भएका ३० वर्षीय सिकन्दर चमार उर्फ मुलायमलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।

सिकन्दरलाई पुस २७ मा कपिलवस्तुको यशोधरा गाउँपालिका-६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको जिप्रका कपिलवस्तुका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए ।

कृष्णनगर नगरपालिका-६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दर चमारले २०७१ चैत १ मा पत्नी किस्लावती चमारलाई हत्या गरेर जलाएका थिए । फागुन ३० मा राति उनी पत्नीलाई साथमा लिएर ससुराली आएका थिए ।

सो रात खाना खाएर ससुरा सुखराम चमार गोठमा सुत्न गए । त्यसपछि पत्नीलाई गाउँको दक्षिण पश्चिम स्थित भिन्कन आरखको रहरको खेतमा लगेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यापछि आगो लगाएर उनी भारत भागेका थिए ।

२९,पुष.२०७८,बिहीबार ०८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्