नेपालले अफगानिस्तानमा मानवीय र स्वास्थ्य सहायता पठाउँदै

काठमाडौं । मानवीय संकटसँग जुधिरहेको मुलुक अफगानिस्तानलाई मानवीय सहयोग गर्न नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार भोलि बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको हो । नेपाली टोली काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर टोलीलाई काबुलतर्फ पठाउने कार्यक्रम छ । सार्क अध्यक्ष नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग गर्न लागेको हो ।

अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट सिर्जना भएकाले राष्ट्रसंघले सघाउन सदस्य मुलुकहरुलाई आग्रह गरेको थियो । महासचिव एन्टोनियो गुटरेसले मानवीय सहयोगका लागि आह्वान गरेका थिए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमले अफगानिस्तानको ठूलो जनसंख्या शिक्षा, स्वास्थ्य र खाद्यान्नबाट बञ्चित हुनसक्ने विवरणहरु उपलब्ध गराउँदै आएका छन् ।

नेपाल उद्योग परिसंघले सार्क सदस्य मुलुक अफगानिस्तानलाई परराष्ट्र मन्त्रालयमार्फत राहत सामाग्री हस्तान्तरण गरेको छ । परिसंघ अध्यक्ष विष्णुकमार अग्रवालले परराष्ट्रमन्त्रीलाई राहत सामाग्री प्रदान गरेका हुन् ।

सहयोग सामाग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी मुलुकमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए ।

परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधि मन्त्रालयलाई हस्तान्तरण गरेको छ । आइतबार नै यो सहायता सामाग्रीलाई काबुल पठाउने कार्यक्रम छ ।

१,माघ.२०७८,शनिबार १२:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्