नेपालगन्जमा सुरु भयो एयरक्राफ्ट म्युजियम

रुपन्देही । ९ वर्ष अघिदेखि सुदूरपश्चिमको धनगढीमा संचालन गरिएको वायुयान संग्राहलय (एयरक्राफ्ट म्युजियम) बाँकेको नेपालगञ्जमा स्थानान्तरण गरी शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ ।

नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्राहलय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको उप्रेतीले बताए ।

क्याप्टेन उप्रेतीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको यो संग्राहलय विशेषत विद्यार्थीका लागि अध्ययनस्थल बन्ने अपेक्षा राखिएको छ ।

नौ वर्षअघि धनगढीमा डेढ करोड लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको सङ्ग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुर्‍याउन करिब ३० लाख थप लगानी भएको हो । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई संग्राहलय बनाइएपछि अहिले नेपालगन्जको बेलारसपुर क्षेत्र विद्यार्थीको घुम्ने गन्त्व्य क्षेत्र बनेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले उपमहानगरसँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित सङ्ग्रहालय राखिएको बताए ।

उनका अनुसार उपमहानगरपालिकाको सहमतिमा वायुयान सङ्ग्र्रहालयका लागि करिब सात कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।

‘धनगढीमा उहाँहरु सन्तुष्ट नभएको सूचना हामीले आफन्तमार्फत थाह पाएपछि यहाँ ल्याएका हौं, मासिक न्यूतत्तम भाडामा १० वर्षका लागि सम्झौता गरिएको छ । यसले यहाँको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नेछ’ सुवेदीले भने, ‘पश्चिममा उहाँको सम्झौता सकिन थालेको सूचना मेयरसापलाई सुनाएँ, मेयर सापले पनि सकारात्मक भएपछि तत्काल प्रकृया अगाडि बढायौं, मासिक १० हजार पालिकालाई दिने, स्थानीयले रोजगारी पाउने र नेपालगन्जमा पर्यटकलाई देखाउने ठाउँ थपिएपछि हामीलाई उत्साहित बनायो ।’

वायुयान संग्रहालयका लागि विमानका सामानहरु ल्याइएपछि हेर्नेहरुको संख्या बढिरहेको पत्रकार झलक गैरेले जानकारी दिए ।

नेपालगन्जका नगर प्रमुख डा. धवलशम्शेर राणाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब ७ कठ्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।

स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले बताइन् ।

वायुयान संग्रहालयमा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिएका छन् ।

‘अहिलेसम्मका सबै मोडेलका जहाजका नमूना यहाँ हेर्न र अध्ययन गर्न सकिनेछ’, एयर इन्डियाका बहालवाला क्याप्टेन उप्रेतीले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘यहाँ कार्यरत कर्मचारीहरु पनि भोलि एभियसनका क्षेत्रमा काम गर्ने गरी प्रशिक्षित हुनेछन् ।’

म्युजियम भित्र २ सय ५० बढी जहाजका नमूनादेखि आकाशबाट खिचिएका कयौं तस्वीरहरु राखिएका छन् ।

उपमहानगरपालिकाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब ७ कठ्ठा जग्गा प्रयोग गर्न दिइएको हो । वेद उप्रेती ट्रष्टले राजधानी काठमाडौंमा ५ करोड बढी लागतको म्युजियम सञ्चालन गरिरहेको छ ।

१,माघ.२०७८,शनिबार १५:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्