दाङ । गुण्डानाइकेका रूपमा चिनिएका घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीय विकास पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्दामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सोमबार काठमाडौंबाट पक्राउ गरेको डीआईजी धिरजप्रताप सिंहले बताए ।
सुन्धाराबाट पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीलाई बुझाउने तयारी भइरहेको सिंहले जानकारी दिए ।
कपिलवस्तुको वाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
राप्ती नदीमा नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवाको काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको भनाइ छ ।
गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन् । खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए ।
विकासविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ।
दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो । उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए।
विकास पछिल्लो समय काठमाडौंमा थिए । उनलाई दाङ ल्याएर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्