काठमाडौं । उपत्यका बिकास प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेटेर धोविखोला व्यावस्थापन र सौन्दर्यीकरणका बारेमा छलफल गरेको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिका ४, ५, ७, ९, १०, ११, २९, ३०, र बुढानिलकण्ठ नगरपालिकाका ८, ९, १०, १३ का वडाअध्यक्ष र सदस्यहरुको उपस्थिति थियो ।
धोविखोला कोरिडोर निर्माणको ९५ प्रतिशत काम सकिए पनि निलो पुल छेउको क्षेत्रमा ३ वटा घरको मुअब्जाका कारण र अर्कोतिर पहिरो व्यास्थापनका कारण काममा ढिलाइ भएको छ । साथै काम सम्पन्न भइसकेको ठाउँमा बाटो र पुलमुनीको भागमा जथाभावी फोहोर थुप्रिएको, खोलामा ढल मिसिएको सन्दर्भलाई लिएर यसको समाधानका लागि प्राधिकरणले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको हो ।
धोविखोलामा अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत बिकास समितिले ढल राख्ने काम गरेको छ भने कोरिडोर निर्माणकार्य काठमाडौं उपत्यका बिकास प्राधिकरणले गरेको छ ।
वडाध्यक्षहरुले धोविखोला कोरिडोरले शहरको ठूलो ट्राफिक चापलाई व्यवस्थापन गर्न सहयोग पुगेको भए पनि हरेक बर्ष आउने बाढीले स्थानीय जनताले दुख पाएको कारण अब योजना बद्द रुपमा अगाडि बढ्नुपर्ने र धोविखोलाको व्यावस्थापन सबैको जिम्मेवारी भएकोले समन्वय गरेर काम गर्नुपर्ने धारणा राखेका थिए ।
त्यस्तै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले वागमतीसहति उसका सहायक नदीहरुको सरसफाइमा सबै निकायले ध्यान दिनुपर्ने र कसैले पनि अर्को निकायको जिम्मेवारी हो भनेर पन्छन नहुने बताए ।
विगतमा कोरिडोर निर्माणको काममा तत्काल गर्न सक्ने कामहरु पनि नगरिएको र अब त्यस्ता कुरालाई ध्यानमा राखेर सडकमा कलरकोड, बत्ती, हरियाली, फुटपाथलाई फुटपाथको रुपमा नै प्रयोग गर्ने वातावरण समेत मिलाउने प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् ।
छलफलले धोविखोला आयोजना प्रमुख दिनेश कृष्ण पोतेको संयोजकत्वमा काठमाडौं नगरपालिका, बुढानिलकण्ठ नगरपालिकाका वडा प्रतिनिधि , अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत किकास समितिका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधिसमेत रहने गरी धोविखोला व्यावस्थापन समन्वय समिति गठन गरेको छ
यो समितिले खोलाको सौन्दर्यीकरण, ढल व्यावस्थनपन, फोहोर व्यवस्थापन, वृक्षरोपण र त्यसको संरक्षण , पार्क निर्माणका लागि सार्वजनिक जग्गाको पहिचान लगायतका काममा समन्वयात्मक भुमिका निर्वाह गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्