वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–६ बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमणको तेस्रो लहरमा यो नै पहिलो मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका उनको माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि राति साढे ८ बजे उनलाई नारायणी अस्पतालमा रेफर गरेको थियो । मधुमेहको बिरामी समेत रहेका उनले कोरोनाको खोप पनि नलगाएको पाइएको अस्पतालले जनाएको छ ।

कडा कोभिड निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा राति पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

‘सुगरको बिरामी इन्सुलिन लिने गर्नुहुँदो रहेछ, अस्पताल आउँदा शरीरमा ग्लुकोजको मात्रा एकदमै कम थियो,’ उनले भने, ‘सँगै कडा कोभिड निमोनिया भइसकेको थियो, सकेको प्रयास गर्‍यौं, तर बचाउन सकेनौं । ’

कोरोना संक्रमित विभिन्न लक्षण सहित अस्पतालमा भर्ना हुने क्रम पनि बढेको उनले बताए । नारायणी अस्पतालमा हाल ७ जना कोरोना संक्रमित उपचाररत छन् । बिहीबार ८६ जनाको पीसीआर गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये ज्वरो, खोकी लगायत विविध स्वास्थ्य समस्या भएका ६ जना अस्पतालमा भर्ना छन् ।

‘अस्पतालमा एकैदिन ६ जना भर्ना भएका छन्, स्थिति ठिक छैन, सबैले स्वास्थ्य सतर्कताको उपाय अबलम्बन गर्नुपर्छ’ उनले भने ।

७,माघ.२०७८,शुक्रबार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्