सिरिन्ज र खोप अभाव हुँदा कपिलवस्तुमा रोकियो खोप अभियान

रुपन्देही । प्रदेश तथा संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नसक्दा कपिलवस्तुमा खोप सेवा प्रभावित बनेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या बढिरहेका बेला खोप अभियान रोकिएको छ । कहीं सिरिन्ज त कहीं खोप अभाव हुँदा जिल्लाका सातवटै स्थानीय तहमा दोस्रो चरणको खोप अभियान शनिबारदेखि रोकिएको हो ।

संघीय स्वास्थ्य सेवा विभागमा खोप र सिरिन्ज पर्याप्त रहे पनि ढुवानी गर्ने सवारी चालकलाई कोरोना संक्रमण भएपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए ।

कृष्णनगर, शिवराज र महाराजगन्ज नगरपालिका एवं विजयनगर गाउँपालिकामा एकदिनमै अभियान रोकिएको छ । त्यहाँ शुक्रबारदेखि कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिएको थियो । तेस्रो लहरको संक्रमण बढ्दै जाँदा स्थानीयमा पनि खोपप्रति सचेतना बढ्दै गएको छ ।

यसैगरी बुद्धभूमि र कपिलवस्तु नगरपालिका एवं यशोधरा गाउँपालिकामा सञ्चालित भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान पनि रोकिएको छ । यहाँ माघ ३ गतेबाट खोप अभियान सुरु भएको हो । यहाँ खोप भए पनि सिरिन्ज अभाव हुँदा रोक्नु परेको जनाइएको छ ।

पाँच दिनमा ४३ हजारलाई लगाइयो तर अहिले सिरिन्ज अभाव हुँदा ५७ हजारले खोप लगाउन पाएका छैनन् । स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन उमेश घिमिरेले प्रदेशले दिएको ३ हजार र जिल्लाबाट जम्मा गरिएको ५ हजार गरी ८ हजार डोज खोप पठाएकामा पहिलो दिनमै सकिएको बताए । अहिले प्रदेशले खोप मौज्दात नरहेको भनेपछि खोप लगाउन रोक्नुपरेको उनले बताए ।

त्यसैगरी जिल्ला अस्पतालमा गरिँदै आएको कोरोना परीक्षण पनि रोकिएको छ । अस्पताल प्रमुख किशार बन्जाडेले आवश्यक किट नआएकाले परीक्षण रोकिएको जनाएका छन् । प्रदेश तथा संघीय सरकारले समन्वय गर्न नसकेकाले यसरी रोकिएको स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ ।

९,माघ.२०७८,आईतवार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्