सबै क्याम्पस तथा विभागलाई माघ ११ गतेदेखि अनलाइन पढाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसका लागि सबै क्याम्पस तथा विभागहरुले सोमबार (भोलि) १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तैगरी सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति अनलाईन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ ।

त्रिवि कार्यकारी परिषदले भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिनेछ निर्णय गरेको छ ।

अनलाइन कक्षा व्यवस्थित भए÷नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति बन्ने त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा योगेन्द्रप्रसाद दाहालले जनाएका छन् ।

प्रमुख दाहालको अनुसार अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ । अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनमार्फत हुनेछ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका अन्तर्गतका परीक्षा स्वास्थ्यको मापदण्ड पालना गरेर अध्ययन संस्थानबाटै निर्णय गरेर सञ्चालन गर्ने, विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै संकाय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने र कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि त्रिविले निर्देशन दिएको छ ।

त्रिविले सबै क्याम्पसलाई प्रशासनिक सेवा बन्द नगर्न र सकभर घरबाटै काम गर्ने वातावरण मिलाउनसमेत निर्देशन दिएको छ ।

९,माघ.२०७८,आईतवार १६:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्