सुदूरपश्चिमका मुख्य सचिवसहित १२ कर्मचारीमा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयका १२ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव ढुण्डीप्रसाद निरौलासहितका पाँचजना, सामाजिक विकास मन्त्रालयका छ जना र भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

निमित्त प्रमुख सचिव निरौलाले परीक्षण गराउँदा आफूसहित पाँचजना कर्मचारीमा संक्रमण देखिएको जानकारी दिए । आफ्नो भान्छे र सवारी चालकलाई पनि संक्रमण देखिएको बताउँदै निरौलाले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताए ।

मुख्यमन्त्रीका निजी सचिवसहितका अन्य दुई जनालाई पनि संक्रमण भएको छ । संक्रमण पुष्टि भएका कर्मचारीहरु आइसोलेसनमा बसेका छन् ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले ६ जना कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको जानकारी दिए । लक्षण देखिएका अन्य कर्मचारीहरूले पनि स्वास्थ्य परीक्षण गराउने उनले बताए ।

यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत एक जना कार्यालय सहयोगीलाई पनि कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा उनलाई संक्रमण देखिएको हो । उनी पनि आइसोलेसनमा बसेका छन् ।

१०,माघ.२०७८,सोमबार १०:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्