
काठमाडौ । काठमाडौं बासीको लामो प्रतिक्षा र केयूकेएल व्यवस्थापन पक्षको लगातारको मेहनतको प्रतिफल प्राप्त भएको छ । काठमाडौं उपत्यका वासीले अब केयूकेएलको पानी उपभोग गरे वापतको महसुल अनलाइन प्रणालीबाट नै भुक्तानी गर्न सक्ने व्यवस्था केयूकेएलले गरेको छ । कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी महसुल अनलाइनबाट नै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो ।
बुधबार केयूकेएल र ई–सेवाबीच सम्झौता भएसँगै अब उपत्यकाबासी खानेपानी उपभोक्ताहरूले अनलाइनबाट नै खानेपानीको महसुल तिर्नका लागि बाटो खुलेको छ । हाल ई–सेवाबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भए पनि सेवा प्रदायक संस्थाहरूसँग पनि सम्झौता गर्ने तयारी भइरहेको छ ।
अनलाइनबाट भुक्तानी गर्न पाउने भएपछि उपभोक्ताहरूलाई कोभिडको समयमा केयूकेएलमा गएर महसुल बुझाउनुपर्ने बाध्यता अन्त भएको छ । उपभोक्तालाई अब खानेपानीको महसुल बुझाउने लाइन बसिराख्नुपर्ने झन्झटिलो प्रक्रिया हट्ने तथा समयको पनि बचत हुनेछ । केयूकेएलले लामो समयदेखि अनलाइनबाट महसुल भुक्तानी प्रक्रिया सुरु गर्ने तयारी गरे पनि बुधबारबाटमात्रै सेवा प्रदायक कम्पनी ई–सेवासँग अनलाइन भुक्तानीका लागि सम्झौता भएको हो ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले हाल ई–सेवासँग भुक्तानी सम्झौता भए पनि अन्य सेवा प्रदायक एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकसँग सम्झौता हुने तयारी भएको बताएका छन् । उनले भने, “अब २र३ दिनपछि नै हामी ई–सेवाबाट परीक्षण गर्नेछौं । आगामी फागुन १ देखि भने सबै उपभोक्ताहरूले अनलाइबाट नै भुक्तानी गर्न सक्नुहुने छ ।”
शाक्यले विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न र महसुल बुझाउन केयूकेएलमा नै धाइराख्नुपर्ने उपभोक्तालाई झन्झटिलो प्रक्रियाबाट मुक्त गर्न अनलाइन प्रणालीबाट महसुल बुझाउने व्यवस्था गरिएको बताएका छन् । यो प्रक्रिया निकै सजिलो हुने तथा उपभोक्ताको समय र यातायत खर्च बच्ने र खानेपानीको बक्यौता उठ्न पनि सजिलो हुने विश्वास लिएका छन् ।
यसअघि उपभोक्ताले खानेपानी उपभोग गरिएको प्रमाणका लागि मिटरको फोटो खिचेर अनलाइनमार्फत पठाउन सकिने व्यवस्था भएपनि महसुल तिर्न भने अनलाईनबाट नमिल्ने र उपभोक्ता केयूकेएलमा नै धाउन बाध्य थिए । उपभोक्ताहरूले खानेपानी सम्बन्धि गुनासाहरू पनि अनलाइनबाट नै दिन सक्ने भन्दै शाक्यले उनीहरूको गुनासा चाँडोभन्दा चाँडो सम्बोधन गर्ने प्रयास भइरहेको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्