काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै बालबालिकामा अत्यधिक मात्रामा संक्रमण देखिन थालेको छ । खोपको दायराभन्दा बााहिर रहेका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम बढी देखिएको छ ।
संक्रमणपछि निको भइसकेका धेरै बालबालिकामा एक–डेढ महिनापछि ‘पोस्ट कोभिड सिन्ड्रोम’ लक्षण देखिन सक्ने विज्ञहरूले बताएका छन् । संक्रमणको अवस्था, बाललबालिकामा परेको असर, हेरचाह र उपचारबारे बालरोग तथा रोग प्रतिरक्षा विशेषज्ञ डा.धर्मागत भट्टराईसँग कान्तिपुरकर्मी बुनु थारुले गरेको कुराकानी:
अति संक्रामक ओमिक्रोन भेरिएन्ट फैलिरहेको अवस्थामा बालबालिका कति जोखिममा छन्?
अहिले अत्यधिक कोरोना संक्रमण फैलिनुमा आमिक्रोन भेरिएन्टको ठूलो भूमिका छ । सुरुमा देखिएको कोरोनाभन्दा अल्फा संक्रामक थियो त्यसपछि बढी संक्रामक डेल्टा भयो ।
ओमिक्रोनसम्म आइपुग्दा एक अर्कामा सर्ने दर अत्यन्तै बढी छ । त्यसले गर्दा बच्चामा पनि संक्रमण बढ्नु स्वाभाविक हो । तर पहिलाका भेरिएन्टले जति सिकिस्त बनाउँथे, ओमिक्रोनमा यो दर कम छ र अस्पताल भर्नादर पनि कम छ । कोभिडको जुनसुकै भेरिएन्ट होस्, बच्चामा गर्ने असर एकदमै कम थिए र अहिले पनि छ । कोभिडको यो भेरिएन्टले बच्चालाई बढी सिकिस्त गराउँछ भन्ने कुनै प्रमाण छैन ।
पहिला पनि बच्चाहरु लगभग ६० देखि७० प्रतिशत लक्षणविहीन हुन्थे र २० देखि ३० प्रतिशतमा सामान्य लक्षणहरु आउँथे । करिब–करिब ५ प्रतिशतलाई मात्र चिकित्सकको प्रत्यक्ष परामर्श वा अस्पतालमा भर्ना गर्नुपथ्र्यो । त्यो दर ओमिक्रोनमा बढेको छैन । संख्यात्मक हिसाबले बढी व्यक्तिहरु संक्रमित भएपछि धेरै बालबालिकाहरु चिकित्सकको परामर्श लिन आउने कुरा स्वाभाविक भयो । गम्भीर तथा जटिलताको हिसाबले अहिले कुनै उदाहरण छैन ।
२ हप्तायता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा बालबालिकामा कोरोना संक्रमण र अस्पताल भर्ना हुने दर भने बढेको देखिन्छ । बालबालिकाहरूमा कस्ता लक्षण देखिएका छन्?
झन्डै ६० देखि ८० प्रतिशतमा बिनालक्षण वा सामान्य लक्षणजस्तै सामान्य ज्वरो आउने, मांसपेशी दुख्ने, घाँटी खसखसाएको महसुस हुने, वान्ता हुने, पेट दुख्ने, झाडापखाला हुने लक्षण देखिएका छन् । ओमिक्रोन भेरिएन्टमा माथिल्लो श्वासप्रश्वास नलीको संक्रमण बढी हुन्छ । नाकदेखि लिएर श्वासनलीसम्मको भागमा लक्षण देखाउँछ । जस्तै रुघा लागेजस्तो हुने,नाकबाट पानी बग्ने, नाक बन्द हुने, घाँटी खसखसाउने, निल्न गाह्रो हुने , खोकी लाग्ने, ज्वरो आउने, धेरै बच्चामा मांशपेसी दुख्ने, पेट दुख्ने, वान्ता आउने, झाडापाखाला हुने बढी लक्षणहरु देखिएका छन् । तल्लो श्वासप्रश्वास नलीमा संक्रमण भई फोक्सोमै असर गरेका बालबालिका भने कम छन् ।
बालबालिकालाई संक्रमण भइहालेमा कस्तो अवस्थामा अस्पताल लग्ने?
सामान्य लक्षण जस्तै सामान्य ज्वरो आएमा, जीउ दुखेमा वा रुघाखोकी लागेको छ भने घरमै स्याहार गर्न सकिन्छ । बच्चालाई जतिखेर पनि ज्वरो आएमा, कामज्वरो सुरु भएमा, सिजर आउन थालेमा अथवा श्वासमा अनौठो आवाज आएमा, श्वासप्रश्वासको गति बढेमा, कोखा हानेमा, खेलिरहने बच्चा नखेलेमा, दूध र खाना नखाएमा, यत्तिकै सुतिरहेमा,अक्सिजन लेभल ९३ भन्दा कम भएमा तुरुन्त अस्पताल लग्नुपर्छ । कहिलेकाहीँ झाडापखाला तथा वान्ताले बच्चालाई शिथिल तुल्याउन सक्छ । त्यतिबेला अक्सिजनको जरुरत नपरे पनि जलविनियोजन भएर ती लक्षण आउन सक्छन् । त्यस्तो अवस्थमा पनि अस्पताल लैजान जरुरी छ ।
बालबालिकामा रोगप्रतिरोधी क्षमताको विकास कसरी गर्ने?
रोगप्रतिरोधी क्षमता सेता रक्तकोष र त्यससँग सम्बन्धित थुप्रै अवयवहरुले प्रदान गर्ने हो । त्यसले कसरी काम गर्छ भन्ने कुरा हाम्रो वंशाणुमा पहिले ब्लुप्रिन्ट भएर आइसकेको हुन्छ । इम्युनिटी सिस्टमलाई कसरी निर्देशन गर्ने भन्ने कुरा हामी जन्मेदेखि नै निर्धारण भएको हुन्छ । तर त्यसले काम गर्नका लागि विभिन्न तत्वको आवश्यकता हुन्छ ।
जन्मेदेखि इम्युनिटी चुस्त राख्न विश्व स्वास्थ्य संगठनले भनेबमोजिम बच्चा जन्मेपछि ६ महिनासम्म आमाको दूध खुवाउन जरुरी छ । आमाको दूधमा थुप्रै इम्युनिटी प्रदायक तत्व हुन्छन् । ६ महिनापछाडि सही रुपमा अन्नप्राशन गर्न जरुरी छ । समाजमा विभिन्न भ्रम फैलाइएका हुन्छन्, जस्तै सानो बच्चालाई पनि दूध पुगेन भनेर अन्य चिज खुवाउने, आमाको दूध छुटाइदिने गर्दा बच्चाको विकासमा घाटा पुगिरहेको हुन्छ । पास्नीभन्दा पछाडि बच्चालाई पौष्टिक खानेकुरा खुवाउन पर्यो ।
अनाज, दूध, तरकारी, फलफूललाई सन्तुलित आहार बनाएर खानुपर्छ । शक्तिदायक तत्वमा कार्बोहाइडेट, प्रोटिन र फ्याट हुन् । धेरै आमाबुवाले बच्चाले केही खाएन र बढेन भन्छन् । त्यतिबेला भिटामिनको बोतल किन्न दगुर्ने होइन । आफ्नै घरमा भएका शक्तिदायक तत्वहरु बच्चालाई खुवाएमा भने बच्चा बढ्छ । भिटामिनको बोतलले बच्चा बढ्दैन । भिटामिन, मिनिरल, पानी, फाइबरको आफ्नै विशिष्ट काम छ । हाम्रै घरका खानेकुरामा ती पाउन सकिन्छ । जुनसुकै प्रकारका फलफूल तथा तरकारीमा ती कुराहरु लगभग पाइन्छ । त्यसका लागि कुनै सप्लिमेन्ट खाइराख्न जरुरी पर्दैन ।
कुनै बच्चा सधैँ तनावमा छ भने पक्कै पनि उसको इम्युनिटी सिस्टम राम्रो हुँदैन । बच्चा जन्मिनेबित्तिकै ठीक छ तर पछि ‘इम्युनो डिफिसेन्सी’ हुन सक्छ जस्तै कुपोषण त्यसलाई ‘सेकेन्डरी इम्युनो डिफिसेन्सी’ भनिन्छ । भाइरल इन्फेक्सनजस्तै एचआईभीले पनि इम्युन सिस्टममा समस्या आउँछ । त्यसैगरी केमोथेरापी गराइरहेका बच्चा जसले इम्युनिटी सप्रेस गर्ने औषधि खान्छन् उनीहरूमा पनि समस्या हुन्छ । त्यस्तो बच्चालाई इम्युनिटी प्रदान गर्नका लागि जुन बिरामीका लागि उपलब्ध भएको खोप लगाउने र स्वास्थ्यको ख्याल गर्नुपर्छ ।
बजारमा ‘पेडियाट्रिक इम्युन बुस्टर’ विज्ञानले प्रमाणित नै नगरेका अप्रमाणित धूलो बेच्ने गरेको देखिन्छ । शरीरलाई भिटामिन ‘सी’, ‘डी’, जिंकजस्ता विभिन्न तत्वहरु चाहिन्छन् । तर तिनीहरूले हाम्रो प्रतिरोधी क्षमता भने बढाउँदैन । झूटो प्रचार गरेर कोरोना भएका बालबालिकालाई यस्ता चिज खुवाउने गरेको पाइन्छ । यो आवश्यक होइन । सन्तुलित भोजनका हिसाबले कार्बोहाइड्रेट, फ्याट, मिनिरल, प्रोटिन, भिटामिन, फाइबर, पानी मिलाएर घरमै भएका खानेकुरा दिँदा बालबालिकामा प्रतिरोधी क्षमता बढ्ने हो । त्यस्तै बालबालिकाको पूर्ण निद्रा, व्यायम र तनावरहित अवस्थामा रहे–नरहेकोमा पनि विशेष ध्यान दिनुपर्छ ।
५ देखि १२ वर्ष उमेर समूहकाले अझै खोप पाएका छैनन् । संक्रमण गम्भीर हुन नदिन बालबालिकालाई खोप कत्तिको आवश्यक छ ?
अहिलेसम्म १२ वर्षमाथिका बच्चालाई खोपको स्वीकृति मिलेको छ । सायद निकट भविष्यमा ५ वर्षमाथिका लागि खोप पाउने आशा गर्न सकिन्छ । धेरै वैज्ञानिकहरूले यो उमेर समूहमा सुरक्षित छ भनेर लेख प्रकाशित गरिसकेका छन् । ती अध्ययनका आधारमा के भन्न सकिन्छ भने बच्चामा पक्कै पनि कोभिडको खोपले सुरक्षा प्रदान गर्छ । अहिलेसम्म हेर्दा वयस्क होस् वा किशोरलाई खोपले राम्रो काम गरेको देखिएको छ । बच्चाहरुलाई पनि खोप उपलब्ध हुन्छ भने ढुक्क भएर लगाउन सकिन्छ ।
कोभिडसँग जोडिएको ‘एमआईएससी’ कस्तो समस्या हो?
बच्चामा देखिने कोभिडको रोगप्रतिरोधी प्रतिक्रियात्मक रोगलाई मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोन इन चिल्डेन(एमआईएससी)भनिन्छ । सन् २०२० को अप्रिलमा अमेरिका र बेलायतका थुप्रै वैज्ञानिकहरूले यसको बारेमा खोज गरेका थिए । यो रोग‘कावासाकी’ रोगसँग यसको प्रकृति मिल्दोजुल्दो छ । यो पूर्ण रूपमा इम्युनोलोजिकल डिसअर्डर हो । यो कोभिडको कारणले इम्युनोलोजिकल डिस्टर्बसेन्सका कारणले देखिने रोग हो ।
अमेरिकाकोे २०२१ को अक्टुबरमा ४ हजार बच्चामध्ये ३६ बच्चाको मृत्यु भएको थियो । १ प्रतिशतको हाराहारीमा मृत्यु भएको देखिन्छ । राम्ररी तथ्यांक प्राप्त नभए पनि हाम्रोमा पनि १०० मा ४ देखि ५ जना बालबालिकाको यसबाट मृत्यु भएको थियो । त्यसैले हाम्रोमा मृत्युदर अझै बढी छ ।
कोभिड थाहा पाइने गरी वा थाहा नपाइने गरी भएको छ र २ देखि ६ हप्ताभित्र एमआईएसीको लक्षण आउँछ । संसारभरिको दरलाई हेर्ने हो भने करिब १० लाख बालबालिकामा ३०० बच्चामा एमआईएसी भएको देखिन्छ । यो बिमारी आफैमा दुर्लभ छ । बालबालिकामा यसको गम्भीर असर देखिन सक्छ । कम्तीमा ५० प्रतिशतलाई त आईसीयूको जरुरत पर्ने तथा मुटुमै असरसमेत गर्न सक्छ ।
बच्चामा एक दिनभन्दा बढी लगातार ज्वरो आएमा, परिवारका कुनै सदस्यलाई २ देखि ६ हप्ताभित्रमा कोभिडको लक्षण छ वा बच्चामै संक्रमण छ भने भने चनाखो हुनुपर्छ । ज्वरोसँगै दुई वा दुईभन्दा बढी अंगमा बहुप्रणालीगत समस्या देखिएका छन् भने त्यसमा एमआईएससी हुन सक्छ । आँखा, जिब्रो, ओठ रातो हुने, श्वास फेर्न गाह्रा ेहुने, चाँडोचाँडो सास फेर्ने, हातखुट्टा सुनिन्ने, मुटुको गति बढ्ने, बच्चा सुस्त हुने, बेहोस हुने, वान्ता आउने, पखाला लाग्ने लक्षण देखिन सक्छन् ।
दुर्लभ रोग भए पनि कोभिडको लहर सिद्धिएपछि पनि एमआईएससीको डर बच्चामा रहन्छ । यो लहर गइसके पनि २ देखि ६ हप्ताभित्र एमआईएससीको डर हुनाले यो अवधिमा चनाखो हुनुपर्छ । बच्चालाई संक्रमण भयो भन्दैमा जुन पायो त्यही औषधि दिनुहुँदैन । २ दिन लगातार ज्वरोसँगै माथि उल्लेख गरिएका लक्षण देखिएमा विशेषज्ञको सल्लाह लिइहाल्नुपर्छ ।
ओमिक्रोनको र रुघाखोकीको लक्षण उस्तै देखिएका छन् ? घरमै बालबालिकालाई कसरी स्याहार गर्ने?
अहिलेसम्को विश्वभरिको तथ्यांक हेर्ने हो भने ओमिक्रोनको लहर पनि तीव्र रूपमा बढेको छ । हाम्रोमा ओमिक्रोनको लहर धेरै लामो सम्म नजाला । ओमिक्रोनको धेरै लक्षण माथिल्लो श्वासप्रश्वास नलीमा सीमित हुने भएकाले यसले फोक्सोलाई प्रभावित गर्ने सिरियस केस देखिन्न । तर बच्चालाई धेरै समयसम्म खोकी लागिरहने, घाँटी खसखसाइरहने, निल्न गाह्रो हुने, जस्ता समस्या आउन सक्छन् । नआत्तिइकन घरमै स्याहार गर्ने तर खतराका संकेत देखिए डाक्टरको परामर्श जरुरी हुन्छ ।
चिसो र भाइरल इन्फेक्सनले बच्चालाई पीडित बनाउन सक्छ । त्यसमाथि ओमिक्रोनको संक्रमण फैलिइरहेको छ । यो बेलामा कसैलाई आतंकित गर्नेभन्दा पनि बढी तयारी हामी आफैले गर्नु जरुरी छ । बालमैत्री अस्पताल, वार्ड, आईसीयू र बालमैत्री संरचना पनि सरकारले बढाउनुपर्छ । मास्क, सेनिटाइजरका प्रयोगबारे सबैले जान्ने भइसक्यौं यसमा बढी ध्यान दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्