बाघ संरक्षणमा महत्त्वपूर्ण योगदान गरेपछि बर्दिया निकुञ्जले पायो टीएक्स-२ अवार्ड

काठमाडौँ । बाघ संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले टी-एक्स-२ अवार्ड पाएका छन् । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको पहिलो विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धताअनुसार उपलब्धि हासिल गरेकाले टीएक्स-२ अवार्ड दिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा योबीचमा बाघको संख्या करिब चार गुणाले बढेको छ । सन् २००९मा बर्दियामा निकुञ्जमा १८ वटा बाघ थिए । उक्त संख्या बढेर सन् २०१८मा ८७ पुगेको छ । यो वर्षको बाघ गणनामा पनि बाघको संख्या बढ्ने अनुमान गरिएको निकुञ्जका प्रमुख स‌ंरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए ।

यो अवार्ड ग्लबोल टाइगर फोरम(जीटीएफ), डब्लूडब्लूएफ, कन्जर्भभेसन एस्युर्ड टाइगर स्ट्यान्डर्टस(सीएटीएस), यूएनडीपी,वाइल्डलाइफ कन्जर्भेसन सोसाइटी,फाउना एन्ड फ्लोरा इन्टरनेसनल,प्यान्थेरालगायतका संस्थाहरुले बाघ संरक्षणमा गरेका प्रयास र योगदानलाई मूल्यांकन गर्दै प्रदान गरिएको हो ।

यस्तै बर्दियासँगै उत्कृष्ट बाघ संरक्षण मार्ग निर्माण गरेको भन्दै खाता करिडोर जैविक मार्ग समितिलाई पनि पुरस्कृत गरिएको छ । यो करिडोरअन्तर्गत ७४ वटा सामुदायिक वन छन् । भारत र नेपालको सीमामा पर्ने यो करिडोर हुँदै बाघहरु आवतजावत गर्छन् । यो करिडोर बर्दिया निकुञ्ज र भारतको कतारिन्घाट वाइल्डलाइफ स्याङ्चुरी पनि पर्छ ।

भारतको दक्षिण भारतीय राज्य तमिलनाडुमा अवस्थित सत्यमंगलम टाइगर रिर्जभले पनि बाघको संख्या २५ बाट बढाएर ८० पुर्‍याएको छ ।

यो वर्षको सेप्टेम्बरमा रुसमा हुने दोस्रो विश्व बाघ सम्मेलनमा अवार्ड दिइने छ । ‘यो अवार्ड हाम्रोका लागि ठूलो रिकग्निसन पनि हो । यो अवार्ड पाउनुमा सबै समुदाय संरक्षणकर्मी, संस्थाहरुसँगको सहकार्य र साझेदारीका कारण सम्भव भएको हो,’ श्रेष्ठले कान्तिपुरसित भने ।

बाघको बासस्थान सुधारका लागि निकुञ्जले हरेक वर्ष १२ सयभन्दा बढी घाँसे मैदान व्यवस्थापन गर्दै आएको छ । घाँसे मैदानको व्यवस्थापन हुँदा बाघका आहारा प्रजाति बढ्छ । यस्तै,निकुञ्जले कृत्रिम पोखरीहरु पनि निर्माण गरेको छ । सोलार फ्लोरिङ प्रयोग गरेर पनि सुख्खा मौसममा नियमित पानीको उपलब्धता बनाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले बाघको अवैध चोरीशिकारी नियन्त्रणका लागि समुदायमा आधरित स्यव‌ंसेवक युवाहरु पनि परिचालन गरेको छ । यसमा २५ सय युवाहरु सहभागी छन् ।

निकुञ्जभित्र हुन सक्ने अवैध गतिविधि र दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सीसी क्यामेरा तथा स्पाइ क्यामेरा जडान गरिएको छ । श्रेष्ठका अनुसार सडक र जंगल गरेर विभिन्न स्थानमा २० स्पाई क्यामेरा र ६५ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ ।

पछिल्लो समय बर्दियामा बाघको संख्या बढेसँगै आक्रमणमा परी मानिसहरुले ज्यान गुमाउने गरेका छन् । पछिल्लो ३ वर्षयता निकुञ्जमा बाघको आक्रमणमा परी २१ जनाले ज्यान गुमाएका छन । ०७६/७७मा ६ जना, ०७७/०७८मा १२ र चालू आर्थिक वर्षमा ३ जनाले ज्यान गुमएको श्रेष्ठले जानकारी दिए । मृत्यु भएकामध्ये ८ जना मध्यवर्ती क्षेत्रभन्दा बाहिर हुन् ।

मानव बाघ द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले रणनीति योजना बनाएर लागि परेको जनाएको छ । ‘अब मानव बाघ द्वन्द्व हैन, सह-अस्तित्व कायम गर्नुपर्छ भनेर हामीले काम अगाडि बढाएका छौं,’ उनले भने । यसका लागि विभिन्न १९ वटा समिति बनाइएको छ ।

बाघलाई गाउँ पस्न नदिनका लागि निकुञ्जले पूर्वाधार निर्माणमा जोड दिएको जनाएको छ । आहारा प्रजातिलाई गाउँ पस्न नदिने र उनीहरुलाई रोक्नका लागि छेकबार निर्माण गर्दा बाघ पनि गाउँ पस्ने सम्भावना कम हुने भन्दै फेन्सिङ राख्ने काम भएको उनले बताए ।

द्वन्द्व बढी हुने ठाउँमा निकुञ्जले मानिस र अन्नबालीको बिमा योजना पनि लागू गर्ने तयारी गरेको छ । पहिलो चरणमा ठाकुरबाबा र गेरुवा गाउँका स्थानीयहरुको बिमा गर्ने योजनामा निकुञ्जमा छ । यो कार्यक्रम सफल भए अन्यतिर पनि लागू गर्ने तयारी गरिएको छ ।

वनमा आश्रित मानिसहरुको जीविकोपार्जन र आयआर्जनको सवालमा वैकल्पिक पेसा र खेती प्रणालीमा पनि जोड दिइएको निकुञ्जले जनाएको छ । यसका लागि उनीहरुलाई बेसार तथा कागाती खेती जस्ता कार्यक्रमहरु लाग्न प्रेरित गरिएको श्रेष्ठले बताए ।

नेपालमा सन् २००९ को गणनाअनुसार १२१ बाघ रहेका थिए । तर सन् २०१८ मा उक्त संख्या बढेर २३५ पुगेको छ । चालू गणनामा संख्या बढ्नेमा संरक्षणकर्मीहरु ढुक्क छन् । संख्या बढेसँगै यसको स‌ंरक्षण र भविष्यको विषयमा भने उनीहरु चिन्तित छन् ।

१४,माघ.२०७८,शुक्रबार ११:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्