संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले मंगलबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री खाँणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

यु्नियनले विभिन्न सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि कानुन विपरीतका कार्य भइरहेको भन्दै कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

‘सरकारको दायित्व संविधान र कानुनको पालना गर्नु हो,’ गृहमन्त्री खाणले भने, ‘कानुन विपरीतका काम गर्नेलाई कारबाही हुन्छ, त्यसमा हामी अनुसन्धान गरिरहेका छौं,’ मन्त्री खाँणले भने ।

यस क्रममा उनले राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने काम कसैबाट हुन नहुने पनि बताएका थिए । युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि भएका गैरन्यायिक घटनाका दोषीलाई कानुन अनुरुप कारबाहीको माग गरेको थियो ।

डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितलगायतमाथि भएको दुर्व्यवहारको विरोध गर्दै युनियनले कारबाहीका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो । ‘असहमतिका विषय भए छलफल र कानुनी रुपमा समाधान गर्न सकिनेमा कानुन नै हातमा लिएर भएका गैरन्यायिक कार्य उपर सरकारले शान्ति सुरक्षाका लागि आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्तिः गरोस्,’ युनियनले गृहमन्त्रीलाई दिएको ज्ञापनपत्रमा उल्लेख छ ।

१८,माघ.२०७८,मंगलवार १५:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्