काठमाडौँ । सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्ने गरी निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मन्त्रीहरूसहित आयोगका पदाधिकारीहरुसँग छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
आयोगले यसअघि नै स्थानीय निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर, सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको छैन । गत शनिबार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर, प्रधानमन्त्री देउवा भने वर्तमान ऐन संशोधन गर्न नपर्ने गरी स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् ।
स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिदैछ । त्यहीकारण देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी छलफल थालेका हुन् । आयोगका पदाधिकारीहरु पनि जेठ ४ गते निर्वाचन गर्ने पक्षमा रहेको बुझिएको छ । सरकार र आयोगबीच एकमत भएको अवस्थामा सरकारले केही दिनभित्रै जेठ ४ मा स्थानीय निर्वाचन गर्ने घोषणा गर्ने तयारी अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्