एजेन्सी । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई २९ खेलसम्म पुर्याएको छ। विश्वकपको महादेशीय छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले अपराजित यात्रा कायम राखेको हो।
अर्जेन्टिनाले सन् २०१९ को अगस्टयता खेलेका कुनै पनि खेल हारेको छैन। उसले अन्तिमपटक ब्राजिलसँग २-० गोलको हार ब्यहोरेको थियो।
यसबीचमा अर्जेन्टिनाले २० जित र ९ बराबरीको नतिजा निकालेको छ। गत वर्ष कोपा अमेरिकाको उपाधि पनि जितेको थियो।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेलको अपराजित यात्राको कीर्तिमान इटालीको नाममा छ। इटालीले गत वर्ष लगातार ३६ खेलमा अपराजित रहेर विश्व कीर्तिमान बनाएको थियो।
घरेलु मैदानमा कोलम्बियाविरुद्ध उत्रिएको अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले निर्णायक गोल गरे। २९ औं मिनेटमा उनले अक्युनाको पासमा गरेको गोलमा अर्जेन्टिनाले तीन अंक प्राप्त गरेको हो। मार्टिनेजले अर्जेन्टिनाको जितमा लगातार तेस्रो खेलमा निर्णायक गोल गरेका हुन्। गत साता चिलीविरुद् अर्जेन्टिना १-० गोलले विजयी हुँदा पनि मार्टिनेज निर्णायक बनेका थिए।
इन्टर मिलानका यी २४ वर्षीय स्ट्राइकरले अर्जेन्टिनाको सिनियर टोलीबाट ३७ खेल खेल्दै १९ गोल गरेका छन्। पछिल्ला दुई खेलमा लियोनल मेस्सी टोलीमा समावेश थिएनन्। जारी महादेशीय छनोटमा अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रोमा छ। शीर्षस्थानमा रहेको ब्राजिलको १५ खेलबाट ३९ अंक छ। दुवै टोली यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।
बुधबार बिहान भएको अर्को खेलमा ब्राजिलले घरेलु मैदानमा पाराग्वेलाई ४-० गोलले हरायो। ब्राजिलका रफिन्हा, फिलिप कौटिन्हो, एन्टोनी र रोड्रिगोले एक एक गोल गरे। अर्को खेलमा भेनेजुएलालाई ४-१ गोलले हराएको उरुग्वे १६ खेलबाट २२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। उरुग्वेका लागि लुइस स्वारेज र एडिन्सन काभानीसहित अन्य दुई खेलाडीले एक एक गोल गरे।
प्रतिक्रिया दिनुहोस्