म्यानपावरको अफिसमा यूट्युवर र ज्ञानेन्द्र शाहीका कार्यकर्तामाथि यसरी भयो आक्रमण

काठमाडौं । सामाखुसीमा रहेको ट्रिपल स्टार म्यानपावर कम्पनीमा यूट्यूवर र अभियन्ताको एक समूहमाथि निर्घात कुटपिट भयो । वैदेशिक रोजगारीका लागि गएका युवाहरु समस्यामा परेपछि त्यसलाई ‘सुल्झाउन’ आएका यूट्युवरमाथि म्यानपावरका मान्छले नियोजित आक्रमण गरेको पाइएको छ ।

म्यानपावरले भिजिट भिसामा रोजगारीका लागि दुबई पठाएका केही युवा त्यहाँ पुगेर अलपत्र बनेका थिए । भिजिट भिसामा गएर काम गर्न नपाइने भए पनि म्यानपावरले सेटिङ गरेर पठाउने गरेका छन् । यसरी दुबई पुगेकाहरुले त्यहाँ काम नपाएको र खानबस्न पनि नदिइएको भन्दै आफन्तलाई सम्पर्क गरेपछि आफन्तहरुले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीसँग गुहार मागे ।

पीडितका तर्फबाट करिब १० जनाको समूह शाहीको नेतृत्वमा रहेको सामाजिक संस्था ‘हाम्रो नेपाल हामी नेपाली’ को सम्पर्कमा पुगे । उक्त संस्थाका सदस्यले समस्या समाधानका लागि युट्यूवरलाई परिचालन गरे । मंगलबार दिउँसो १२ देखि १ बजेको बिचमा उक्त म्यानपावर कम्पनीको कार्यालयमा गएर पीडित तथा म्यानपावर कम्पनीका मान्छेसँग अन्तरवार्ता गर्ने सल्लाह भएको थियो ।

सल्लाहअनुसार एवान यूट्युव च्यानलबाट प्रकाश थापा, मेकिङ नेपाल यूट्युव च्यानलका हरी पाठक र मेकिङ नेपालकै दिपेशराज पाण्डेसहित ‘हाम्रो नेपाल हामी नेपाली’ टिमका सदस्य दशरथ भण्डारी र प्रकाश शाहीको टोली पीडितका परिवारलाई सँगै लिएर म्यानपावर कम्पनीमा पुग्यो । त्यहाँ पुगेपछि युटुवरले क्यामेरा खोलेर पीडितसँग अन्तरवार्ता लिन थाले । पीडितले आफ्ना आफन्तहरुको उद्दार गर्न अनुनय गरे ।

यसअघि पनि पटक-पटक म्यानपावरमा गएर उद्दारका लागि आग्रह गर्दा कुनै सुनवाई नभएको पीडितको भनाइ थियो । उल्टै विभिन्न धम्की दिइएको उनीहरुले बताएका छन् । अन्तरवार्तामा पीडितका परिवारले आफूले पैसा दिएका व्यक्तिको नाम पनि सार्वजनिक गरेका थिए ।

पीडितसँग कुराकानी भइसकेपछि यूट्युवरले कम्पनीका सञ्चालकसँग पनि अन्तरवार्ता गर्न खोजे । तर, सञ्चालक कार्यालयमा थिएनन् । पीडित र अभियन्ताले युटुवरलाई १० देखि १५ मिनेट कुर्न अनुरोध गरे । त्यसै अनुसार यूट्युवर पनि म्यानपावर कम्पनीको कार्यालयमै कुरेर बसिरहेका थिए । त्यसबेला केही व्यक्तिहरु पालैपालो आउँदै हेर्दै फर्किने गरेको यूट्युवरले बताएका छन् । शंका लागेपछि उनीहरु निस्केर हिँड्न खोजेका थिए । तर, सञ्चालक आउनै लागेको जानकारी पाएपछि रोकिए ।

त्यसपछि एक्कासी ८ देखि १० जनाको हुल उनीहरु बसेको ठाउँमा आयो । उनीहरुले युटुवरका क्यामेरा खोसेर तोडफोड गर्न थाले । त्यसपछि युट्युवर प्रकाश थापा र एक अभियन्ता भित्रबाटै लुकेर घरको छतमा पुगे । उनीहरु दुवै जना त्यहाँबाट हाम फालेर भाग्न सफल भए । उम्किन नसकेका अरु यूट्युवर र अभियन्ता तथा पीडितमाथि आक्रमण सुरु भयो । अभियन्ता, पीडित र यूट्युवर सबैमाथि रक्ताम्य हुने गरी कुटपिट भयो ।

एकैछिनपछि म्यानपावर कम्पनी रहेको घरका छिमेकीले प्रहरीलाई खबर गरे । तर, प्रहरी आउन ढिलाइ भयो । प्रहरी आइपुग्दा आक्रमणकारी भागिसकेका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरीले कुटिएकालाई मात्रै समातेको देखिन्छ । उनीहरुलाई तत्काल अस्पताल पुर्याइएको थियो ।

हामी पुग्दा सबै तितरबितर भइसकेका थिए
महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली भने प्रहरीले आक्रमणकारी भेट्टाउन नसकेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘नेपाल प्रहरीले जानकारी पाउनेबित्तिकै त्यहाँ टोली परिचालन गरेको हो । तर, त्यहाँ प्रहरी पुग्दा कुटाइ खाने व्यक्ति मात्र भेटिए । कुटपीट गर्ने कोही पनि भेटिएनन् । घाइते भएकाहरुलाई हामीले अस्पताल पुर्‍याएर उपचार गराएका छौं ।’

घटनास्थलमा अरु म्यानपावरका मान्छे पनि उपस्थित रहेको जानकारी आएको मैनालीले बताए ।

‘म्यानपावर कम्पनी सञ्चालकले कुटपीटिमा संलग्नलाई आफूहरुले नचिन्ने दावी गरेका छन् । आफूहरुले पनि कुटाइ खाएको उनीहरुको भनाइ छ,’ मैनालीले भने ।

महानगरीय प्रहरी परिसरका अनुसार मेकिङ नेपाल यूट्युव च्यानलमा कार्यरत ३४ वर्षका दिपेशराज पाण्डे र ४२ वर्षका हरीप्रसाद पाठक तथा हाम्रो नेपाल हामी नेपाली नामक संस्थाका दशरथ भण्डारी घाइते भएका छन् । उनीहरुको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार त्रिपल स्टार म्यानपावर कम्पनीको पहिलो तल्लाको ढोका र झ्यालको शिशा तोडफोड भएको छ । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान भइरहेको जनाइएको छ ।

टोखा नगरपालिका १४ मा रहेको त्रिपल स्टार म्यानपावरका सञ्चालक हरी गुरुङ हुन् । वैदेशिक रोजगार सम्बन्धी विषयलाई लिएर यूट्युवर तथा मेनपावरका पदाधिकारीबीच बिवाद भएपछि हातहालाहाल भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुखसमेत रहेका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

युट्यूवरको दादागिरीले गर्दा झडप भयो- संघ
वैदेशिक रोजगार व्यवसायी संघले भने युट्यूवरको दादागिरीले गर्दा दुखद घटना हुन पुगेको जनाएको छ । संघका कार्यवाहक अध्यक्ष कमल तामाङले युट्यूवर आएर म्यानपावर कम्पनीमा दादागिरी देखाएपछि विवाद उब्जेको र झडप भएको दावी गरे ।

उनले नेपाल प्रेससँग भने, ‘कार्यालयमा धम्की दिने, भिडियो खिच्ने लगायतका काम गरेका रहेछन् । पछि म्यानपावर व्यवसायीले यसो नगर्नुस भनेपछि विवाद भएर झडप भएको रहेछ । म पनि उक्त घटनास्थल पुगेर फर्किएको थिएँ ।’

१९,माघ.२०७८,बुधबार ०९:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्