काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको भावनालाई सम्मान गर्दै राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा छलफल गरेपछि नेपालले यस्तो बताएका हुन् ।
अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले गठबन्धन प्रदेश र प्रतिनिधिसभा चुनावसम्म नै जाने दाबी पनि दोहोर्याएका थिए । ‘गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गरेका छौं,’ प्रधानमन्त्री र दाहालसँग भएको छलफलबारे नेपालले भने, ‘जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हितलाई केन्द्रबिन्दुमा राख्दै हामीले अगाडि बढ्ने सोच बनाएका छौं ।’
पूर्वप्रधानमन्त्री नेपालले पाँचदलीय गठबन्धनबारे आएका समाचारका सम्बन्धमा पनि बालुवाटारमा छलफल भएको बताए । उनले बाहिर सार्वजनिक भएका समाचार तथ्यमा आधारित नरहेको पनि आरोप लगाए । ‘पाँचदलीय गठबन्धन गरिरहेका छौं । दिनदिनै पत्रिकामा समाचार पढेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगर्नुस्,यो गठबन्धन टुट्नेवाला छैन,’ उनले भने ।
संविधान र लोकतन्त्र जोगाउँदै संघीयताको रक्षा गर्न गठबन्धन बनेको बताउँदै नेपालले मुलुकलाई गलत दिशातिर लैजाने प्रयास रोकिएको बताए । एमालेले प्रतिनिधिसभामा जारी राखेको अवरोधप्रति पनि नेपालले आपत्ति जनाएका छन् ।
‘प्रतिनधिसभा क्रियाशील हुनुपर्ने, बनाउनुपर्नेमा जनताका, राष्ट्रका समस्याबारे छलफल गर्नुपपर्नेमा बाधा व्यवधान खडा भइरहेको छ,’ उनले भने, ‘सबैतिर गन्जागोल पैदा गरेर नेपालको राजनीतिलाई गलत दिशातिर लिएर जाने प्रवृत्ति केपी ओली नेतृत्वको एमालेले गरेको छ ।’ त्यो प्रवृत्तिको विरुद्धमा आफूहरू रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्