काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई ‘घाँडो’ र अवसरवादीको संज्ञा दिएका छन् ।
स्थानीय तह निर्वाचन संवैधानिक व्यवस्था र उबको राजनीतिविषयक खुला बहस कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
मञ्चमा रहेका कांग्रेस नेता मिनेन्द्र रिजालतर्फ संकेत गर्दै उनले कांग्रेस अहिले प्रचण्ड र नेपाललाई छाडेर जाने कि एक्लै जाने भन्ने दोधारे अवस्थामा रहेको बताए । अवसरवादीहरुलाई बोकेर लोकतन्त्रको रक्षा गर्न नसकिने उनको भनाइ छ ।
संविधान र लोकतन्त्र बचाउन आवधिक निर्वाचन सही दिशामा लैजानका लागि जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नैपर्ने बस्नेतको भनाइ छ ।
उनले माओवादी र एकीकृत समाजवादी पार्टी अहिले सरकारमा भए पनि निर्वाचनमा एमालेसँग गठबन्धन गर्ने विषयमा पनि छलफल चलाइरहेको सूचना आफूले पाएको समेत बताए ।
उनले भने, ‘माओवादी र नेकपा एस भन्ने पार्टी कांग्रेस र एमालेले कुनै पनि अवस्थामा बहुमत नपुर्याउने भनेर लागेका छन् । कांग्रेससँग सत्तामा भए पनि एमालेसँग पनि निर्वाचनको सम्भावित परिणामका विषयमा कुरा गर्न प्रतिनिधि पठाइरहनुभएको छ भन्ने सुनिएको छ ।’
द्वेध चरित्र भएका च्याँखे दलका नेता एमाले र कांग्रेसमध्ये एउटालाई साथमा लिने र आफ्नो हैसियत बनाएर सरकारमा जाने गरेको टिप्पणी पनि उनले गरे ।
प्रतिक्रिया दिनुहोस्