आइतबारदेखि विद्यालय खोल्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा संचालन गर्ने निर्णय गरेको छ । नगरक्षेत्रका सामुदायिक एवं संस्थागत विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गर्दै माघ २३ देखि भौतिकरूपमै खोल्ने भएको हो ।

कोरोना संक्रमण जोखिमका कारण देखाउँदै स्थानीय प्रशासनले माघ मसान्तसम्म विद्यालय बन्द कायमै राख्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय संक्रमण दर घट्न थालेपछि साथै अधिकांश विद्यार्थीले कोभिड-१९ विरुद्धको खोप पाइसकेकाले पनि स्वायत्त निकाय स्थानीय तहले एक कदम अघि बढेर विद्यालय खोल्ने निर्णय गर्न थालेका हुन् ।

नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार शिक्षा समितिको हिजोको बैठकले विद्यालय खोल्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलुकद शाखा का उपसचिव विजयप्रसाद आचार्यले बताए ।

नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्णसतर्कता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाले सबै सामुदायिक तथा निजी विद्यालयलाई जानकारी गराएको छ ।

नगरपालिकाले मापदण्ड पालना भए/नभएको अनुगमनमा जोड दिएको छ ।

२०,माघ.२०७८,बिहीबार १४:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्