काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

विदेशबाट फर्केर उद्यमी बनेकालाई पुरस्कार दिन आवेदन माग

5.08K
shares
khanepani bord

काठमाडौँ। सरकारले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि आवेदन मागेको हो ।

मन्त्रालयका अनुशार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिन सक्ने छन् ।

कामदार भिसामा विदेश गएर कम्तीमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र श्रम मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेका व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।

मन्त्रालयको वेभ साइटमा राखिएको पुरस्कार आवेदन फारमका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र गत आवको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्नेछ । आवेदन फाराम मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा इमेल गर्न सकिने सूचनामा जनाइएको छ ।

प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले रोजगारीका सिलसिलामा आर्जन गरेका ज्ञान, सीप, अनुभव र पुँजीलाई सदुपयोग गर्न राज्यबाट विशेष प्रोत्साहन गरी विदेश जाने वा विदेशमा नै अवैधानिक तवरबाट बस्ने प्रवृत्तिमा न्यूनीकरण गर्न सरकारले स्वदेश फर्की सफल उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

यस प्रकारका सम्मानबाट उनीहरूलाई आयमूलक तथा रोजगारमूलक कार्यमा लाग्न थप प्रेरणा मिल्ने मन्त्रालयको विश्वास छ । प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा छनोट गरिने छ ।

छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा छ सदस्यीय सिफारिस समितिको गठन गरिएको छ ।

सातै प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गरिनेछ । आवेदकमध्ये एक जनाले रु एक लाख ५० हजारसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनाले रु ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् ।

IME
khanepani