सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु

सुर्खेत । सल्यानमा गएराती चट्याङ लागेर एक महिलाको मृत्यु भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार हिजो अबेर राती परेको चट्याङले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर सात लामासरा कि चालीस वर्षीया रामकली कामिको मृत्यु भएको हो ।

अहिले सल्लिबजारबाट एक प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । यसैबीच पश्चिमा वायुका प्रभावका कारण हिजोदेखि देशभर वर्षा भइरहेको छ । मुख्यगरी हिजो दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णालीमा वर्षा भइरहेको छ भने उच्चपहाडी र हिमाली क्षेत्रमा व्यापक हिमपात भइरहेको छ ।

दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पामा हिजो राति देखि नै हिमपात पर्न सुरु भएको हो । हिमपातले जनजीवन कष्टकर बनाए पनि उच्च हिमाली क्षेत्रका किसान भने हर्षित भएको हुम्लाका कमल शाहीले बताए ।

‘हिमपातले जाडो बढायो तर यहाँको कृषि जन्य उत्पादन बढ्ने पक्का छ,’ उनी थप्छन, ‘किसानका लागि हिमपात हुनु महत्वपूर्ण हो ।’

२१,माघ.२०७८,शुक्रबार ०९:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्