रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको दवावमा प्रदेश स्वास्थ्य सचिव फेरवदलको निर्णय मन्त्रालयमै अड्किएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवका लागि डा. राजेन्द्र खनाललाई सिफारिस गरे पनि उक्त निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गएर अड्किएको हो ।
कांग्रेस नेताहरुको आग्रहमा मुख्यमन्त्री केसीले सामान्य प्रशासनमा रोक्नका लागि दवाव दिएको बताइन्छ ।
प्रदेशमा हाल स्वास्थ्य सचिव रहेका डा. विकास देवकोटालाई मन्त्रालय तानेर डा. खनाललाई स्वास्थ्य सचिवमा पठाउने गत पुस २७ गतेको स्वास्थ्य मन्त्रालयको मन्त्रिस्तरीय निर्णय लामो समयसम्म रोकिएको छ । यो विषयमा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले प्रदेशबाटै दवाव नभई निर्णय भएका फाइल नरोकिने बताए ।
मन्त्रालयले गरेको औपचारिक निर्णयलाई सुरुमा राष्ट्रियसभा निर्वाचनको आचारसंहिताले नदिने भन्दै रोकिएको थियो र त्यो आचारसंहिता सुरु नहँदै यो निर्णय भएको थियो । अहिले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई कोरोना संक्रमण भएको कारण ढिलाई भएको मन्त्रालयका कर्मचारीले बताउने गरेका छन् ।
मन्त्रालयका सहसचिव रघुराम विष्टले यस्ता निर्णय मन्त्रीकै उपस्थितिमा गरिने भएकाले ढिलाई भएको बताए । उनले भने, ‘यस विषयको निर्णय मन्त्रीज्यूको उपस्थितिमा मात्रै हुन्छ, उहाँ कोरोना संक्रमण भएको हुँदा आइसोलेसनमा हुनुहन्छ । उहाँ आएपछि मात्रै यस विषयमा निर्णय हुनेछ ।’
माघ १२ गतेपछि विभिन्न तहका कर्मचारीहरुको बढुवालगायतका निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले डा. खनालको फाइल अड्काएर राख्नुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको स्वार्थ अनुरुप भएको स्रोतको दाबी छ । मुख्यमन्त्री केसीले चाहना व्यक्त नगरेकै कारण खनाललाई लुम्बिनी आउन रोक्नका लागि राजनीतिक शक्ति प्रयोग गरी फाइल अड्काउने काम भएको स्रोत बताउँछ ।
सचिवमा सिफारिस गरिएका खनाल ११ औं तहका हुन् । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रहेका उनलाई हटाएर दशौं तहका डा. इन्द्र ढकाललाई मेडिकल सुपरिटेण्डेन्ट बनाएको थियो । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले तीनै हटाइएका पूर्व मेसु डा. खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा डा. खनाललाई लुम्बिनीको स्वास्थ्य सचिवमा सिफारिस गरेको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ । तर देवकोटालाई थमौती गर्न कांग्रेस नेताहरुकै आग्रहमा मुख्यमन्त्री लागेकाले फाइल रोकिएको दावी गरिएको छ ।
यो विषयमा डा. खनालले आफ्नो नाम मन्त्रालयबाट सिफारिस भएको सुनेको तर किन र कहाँ रोकिएको भन्ने केही जानकारी नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्