सप्तरी । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भिर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
राजकुमारीको शरीरको बिभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजकुमारीका ३० वर्षीया पति रबिन कुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जाहेरीका आधारमा आगजनी गर्नेको खोजी भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्