काठमाडौं महानगरका ३२ वटै वडा भवन मौलिकता झल्किने र एकै स्वरुपका- मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।

वडा–२७ को वडा भवन शीलान्यास गरेपछि उनले भने, ‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकता अनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैनन् त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति नै लिएको थियो । पहिलो बैठकबाट गरेको त्यो निर्णय अहिले हाम्रै कार्यकालमा कार्यान्वयनको चरणमा छ ।’

उनले त्यहि नीति अनुसार अघि बढ्दा जनप्रतिनिधि मात्रै होइन सेवाग्राही पनि खुशी भएको बताए । ‘हामीले कतै नयाँ भवन निर्माण गरेका छौं । कतै तला थपेका छौं । अनि कतै सार्वजनिक र केही आफ्नै स्वामित्वमा रहेका जग्गामा भवन निर्माण गरिरहेका छौं । केही ठाउँमा स्थानीयसँग सहकार्य गरेर पनि अघि बढेका छौं ।’

उनले अहिलेको कार्यकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि स्वर्णयुग भएको पनि दावी गरे । ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भने, ‘अहिले जति सम्पदा निर्माण–पुर्ननिर्माणको काम यस अघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौं । हाम्रो पालामा जति सम्पदा निर्माण, पुर्ननिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन ।’

प्रमुख शाक्यले वडा नम्बर ३, ४, ९, १४, १८ र २६ ले नयाँ भवनबाट सेवाग्रहीलाई सेवा सुरु गरेको जानकारी दिए । ‘वडा–२, ६, १२, १६, २०, २१, २२, ३१ को निर्माण कार्य भैरहेको छ,’ उनले थपे, ‘५, ७, १०, १५, १७, ३२ को तला थपेर सञ्चालनमा छन् ।’ वडा ८ र ११ को खरिद प्रक्रिया अघि बढेको उनले बताए । ‘वडा–२७ को आज शिलान्यास भयो । २९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको छ,’ मेयर शाक्यले थपे ।

उनले वडा–१९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाई भइरहेको भन्दै वडा–१३, २४ र २५ बन्न बाँकी रहेको बताए । महानगरपालिकाले दिएको जानकारी अनुसार वडा नम्बर २८ को भवन निर्माणका लागि जग्गा खोजिरहेको छ भने वडा–२३ भाडामा सञ्चालित छ ।

शाक्यले काठमाडौं महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिए । ‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ,’ उनले भने, ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौं ।’

‘हरिभवनलाई बागदरबार भन्नु भनेको मरेको मान्छे जिउँदो छ भने जस्तै हो’
मेयर शाक्यले केन्द्रीय भवन निर्माणमा मुद्दा–मामिलाले समस्या भएको भन्दै चिन्ता व्यक्त गरे । अहिलेको हरिभवनलाई बागदरबार हो भनेर प्रमाणित गरेर देखाउन पनि उनले चुनौतीसमेत दिएका छन् । ‘कसैको अनावश्यक चरित्र हत्या गरेर, आरोप लगाएर आफ्नो प्रतिष्ठा उँचो हुँदैन,’ उनले भने, ‘अरुलाई सम्मान गर्न सक्यो भने मात्रै आफ्नो पनि प्रतिष्ठा बढ्छ ।’

उनले हरिभवनलाई बागदरवार भनेर मुद्दा हाल्ने काम गरी अवरोध गरेको गुनासो गरे । ‘मेयरले बागदरबार मास्ने भयो भनेर आरोप लगाइयो । त्यो प्रमाणित कसैले गर्न सक्दैन । बागदरवार एक जनाले बेचिसक्यो अर्कोले किनेर प्लटिङ गरेर बेचिसक्यो । बागदरबार बेच्ने सुशील शम्सेर जबरा अहिले जिउँदै हुनुहुन्छ । बागदरबार किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी पनि जिउँदै हुनुहुन्छ,’ उनले थपे, ‘तर, मुद्दाचाँहि भीमसेन थापाकालीन बागदरबार भत्काउने मेयरलाई कारबाही गरिपाउँ भनेर हालिएको छ । बेच्ने पनि यहिँ छ, किन्ने पनि यहिँ छ तपाईंहरु आफैं कल्पना गर्नुहोस् । यस्तो कुरा मरेको मान्छेलाई जिउँदै छ भनेर जिद्धी गरे जस्तै हो ।’

करीब ४ आना क्षेत्रफमा निर्माण हुने वडा–२७ को भवनको इष्टिमेट रकम ३ करोड ७९ लाख २७ हजार ७ सय १८ रुपैयाँ रहेको र कार्यादेश रकम भ्याट समेत २ करोड ८० लाख ८१ हजार ६ सय ३१ रुपैयाँ रहेको छ । लिफ्टसहितको अपांगमैत्री भवन ६ तलाको हुनेछ । सोही भवनमा क्लव पनि रहने छ ।

२४,माघ.२०७८,सोमबार १०:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्