रक्त अभाव कम गर्न अन्तर्राष्ट्रिय सामाजिक संथाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । कोभिड–१९ र यसका कारण नेपालमा परेको प्रभावकाबीच पनि रगतको अभाव कम हुन नदिन शनिबार काठमाडौंको बसन्तपुर डवलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सधैजसो टिकटक बनाउन घुईंचो लाग्ने सो ठाउँमा लायन्स क्लव, किवानिज क्लव, र अप्टिमिस्ट क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । रक्तदानमा युवा, समाजसेवी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

कोरोना संक्रमणका कारण अस्पतालमा विरामीहरुको उपचारका लागि रगतको कमि भएर असहज अवस्था सिर्जना हुन थालेको र देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न रक्तदान कार्यक्रम गरिएको एभरेष्ट अप्टिमिस्ट क्लवका प्रेसिडेण्ट तथा कार्यक्रमका संयोजक बिजु बज्राचार्यल बताए ।

सो कार्यक्रममा अप्टिमिस्टका गभर्नर उदय निरौलाले अन्तर्राष्ट्रियमा संगै मिलेर सामाजिक कार्यगर्न आव्हान गरे बमोजिम “सेलिब्रेटि कम्युनिटी” अन्तर्गत सो मिलिजुली सामाजिक कार्य गरेको बताए । यसैगरी किवानिजका गभर्नर एकराज पन्तले आउने दिनमा जेसिसलाई समेत समेटेर सामुहिक सामाजिक कार्य गर्ने बताए ।

सो कार्यक्रममा लायन्सका क्लस्टर चिफ कृष्णज्योती शाक्यले विषम परिस्थितिमा रक्तदानबाट स्वयंसेवकहरू उत्साहित भएको बताए । साथै यस्ता कार्यक्रमहरू टोलटोलमा गरिने पनि बताए ।

लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उर्जा मन्त्री बसन्तप्रसाद मानन्धरले ओमिक्रोन त्रासका बीच पनि सामाजिक दुरि कायम गर्दै रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए । नेपाल सरकारले अब उप्रान्त बिपन्न तथा असहायहरुको लागि रगत किन्नु नपर्ने व्यवस्था गर्नलागेको समेत उनले जानकारी दिए ।

कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई मन्त्री मानन्धरले प्रसम्सापत्र तथा मायाँको चिनोको बितरण गर्दै परोपकारी क्लबहरुलाई धन्यवाद दिए ।

२४,माघ.२०७८,सोमबार १३:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्