काठमाडौँ । एमसीसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल गरिने सभापति पवित्रा निरौला खरेलले बताएकी छन् । सांसदहरूले एमसीसीबारे कुरा उठाएपछि समिति सभापति खरेलले त्यसका लागि बैठक बोलाइने जानकारी गराएकी हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सबै राजनीतिक दलका सांसदहरूले एमसीसीबारे कुरा उठाएका थिए । सांसदहरूले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र कूटनीति मर्यादाविपरीत रहेको भन्दै त्यसबारे छानबिन गर्न पनि माग गरेका थिए ।
सांसदहरूले कुरा उठाएपछि समिति सभापति खरेलले ती विषयमा छलफलका लागि समय निर्धारण गरेर बैठक बोलाइने बताइन् । ‘एमसीसीबारे छलफलको माग भएको छ,’ उनले भनिन्, ‘एमसीसीबारे सांसदहरू अनभिज्ञ भएर बस्नु उचित भएन । अर्को बैठकमा हामीले छलफल गर्नुपर्छ ।’
समिति सभापति खरेलले प्रधानमन्त्री देउवा र दाहालको पत्र अशोभनीय भएको बताइन् । ‘प्रधानमन्त्री र अर्को दलका नेताको पत्र पनि अशोभनीय कुरा देखिएको छ र गम्भीर कुरा देखिएको छ,’ उनले भनिन् ।
एमसीसीबारे सर्वत्र छलफल भइरहेका बेला सांसदहरू मौन रहन नहुने सभापति खरेलको भनाइ थियो । ‘एमसीसीबारे सारा नेपाली जुरुक्क भएका बेला हामी माननीय कानमा तेल हालेर बस्नु शोभनीय भएन । आगामी बैठकमा प्रमुख मुद्दा र गम्भीरताका साथ यसलाई छलफलको विषय बनाउनुपर्छ,’ उनले भनिन्, ‘हामी अनभिज्ञ भएर बस्न मिल्दैन । हामीले राष्ट्रिय हितमा काम गर्नुपर्छ । हामी सांसद भएका बेला राष्ट्र हितविपरीत काम गरेको भनेर धब्बा लाग्न दिनु हुन्न ।’
एमसीसीबारे समितिमा सतही छलफल गर्न नहुने सभापति खरेलको भनाइ थियो । एमसीसीबारे गम्भीर छलफल गरेर प्रस्ट बन्नुपर्ने उनको भनाइ थियो ।
एमसीसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यसअघि पनि सांसदहरूले जिज्ञासा राख्दै आएका थिए । तर संसद्मा विचाराधीन विषयमा समितिमा छलफल नहुने भनेर त्यसलाई विषय बनाइएको थिएन ।
प्रतिक्रिया दिनुहोस्