सुर्खेतका कृषकले मागे हाते ट्याक्टर, निर्देशनालयले बाँडने योजना बनाउँदै

सुर्खेत । सुर्खेतका कृषकहरुले कृषि विकास निर्देशनालयसँग हाते ट्याक्टरको व्यवस्था गरिदिन माग गरेका छन् । गोरुपालन कम हुन थालेपछि परम्परागत हलो जोत्नभन्दा अधुनिक प्रविधिको प्रयोग गर्न सस्तो हुने भएपछि किसानहरु हाते ट्याक्टरमा आकर्षित भएका हुन् ।

पञ्चपुरी नगरपालिका–४ बराइचेका कृषक कर्णबहादुर रोकायाले पछिल्लो समयमा गोरु पाल्नेहरु घट्दै जाँदा समस्या बढेको बताए । ‘पहिले खेती गर्नका लागि सबैको घरमा एक हल गोरु पालिन्थ्यो । अहिले भने गोरु पालन गर्ने किसान नै पाइन छाडेको छ,’ उनले भने, ‘अब गोरु पालनको साटो हामीलाई हाते ट्याक्टरको व्यवस्थापन सरकारले गर्न प¥यो । त्यसले गर्दा यहाँको जमिन बाँझो पनि रहदैन । उत्पादनमा पनि वृद्धि हुन्छ ।’ उनले आफ्नो गाउँमा गहुँ, मकै, दल्हन, धान पर्याप्त हुने गरेको बताए ।

उक्त वडामा मात्रै ४५० घर धुरी रहेका छन् । ती सबै घरधुरीमा अधिकांशको घरमा गोरु छैनन् । गोरु नहुँदा किसानले समयमै खेती गर्न नसकेको स्थानीय पम्फा सुनारले बताइन ।

यसैबीच निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले दलित विपन्न लक्षित वर्ग अर्गानिक प्रर्वद्धन कार्यक्रम अन्तर्गत सांसदहरुले छनौट गरेको गाउँमा हाते ट्याक्टर वितरण गर्ने योजना भएको बताए । यो कार्यक्रमअन्तर्गत प्रति सांसदले दश लाख रुपैयाँबराबरको कार्यक्रम गर्न वडा छानोट गर्न पाउँछन् ।

‘प्रति सांसदले छानेको वडामा हामीले १३ लाख रकम अनुदान दिने योजना बनाएका छौं । त्यसमध्ये तीन लाख रुपैयाँ गतवर्षको कार्यक्रम निरन्तरताका लागि खर्च हुनेछ भने बाँकी दश लाखको नयाँ कार्यक्रम गरिने छ,’ उनले भने, ‘सुर्खेतमा अधिकांश सांसदले हाते ट्याक्टर वितरण गर्नुपर्ने सुझाव दिनु भएको छ । सोही अनुसार पञ्चपुरी ४ बराइचेमा पनि उपसभामुख पुष्पा घर्तीले गरेको छनौट अनुसार यहाँका स्थानीयले हाते ट्याक्टरको माग गरेका छन् ।’

उनका अनुसार उपभोक्ताले कम्तिमा १५ प्रतिशत लगानी गर्ने व्यवस्था रहेको बताउँदै दश लाखमा वीउ विजन बाहेक १३ ओटा सम्म हाते ट्याक्टर वितरण गर्न सकिने बताए ।

‘यहाँका नागरिकले बारम्बार हाते ट्याक्टरको व्यवस्था मिलाइदिन अनुरोध गर्नु भएको थियो । सानो बजेट भए पनि कम्तिमा १४ ओटा जति हाते ट्याक्टर भए खेति गर्न सहज हुने भन्नु भएको थियो । सोही अनुसार यहाँ कार्यक्रम छनौट गरेको हुँ,’ उपसभामुख घर्तीले भनिन्, ‘हाते ट्याक्टर वितरण पछि यहाँका नागरिकले खेति गर्न समस्या नहुने अपेक्षा राखेको छु ।’ उनले यो वर्ष बजेट कम भएको बताउँदै सबै किसानलाई प्रविधिमा रहेर काम गर्नका लागि सरकाराई किसानमैत्री कार्यक्रम ल्याउन सुझाव दिने समेत बताइन ।

२५,माघ.२०७८,मंगलवार ०९:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्