काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधान सभाको निर्वाचन सुरु भएको छ । निर्वाचन सात चरणमा सम्पन्न हुने छ ।
पहिलो चरणमा आज मुजफ्फरनगर, मेरठ, बागपत, गाजियावाद, शामली, हापुड, गौतमबुद्ध, बुलन्दशहर, अलिगढ, आगरा र मथुरा गरी ११ जिल्लामा मतदान भइरहेको छ । यी ११ जिल्लामा विधानसभाका ५८ सिटका लागि ६२३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
तौं अर्थात अन्तिम चरणको निर्वाचन आगामी ७ मार्च अर्थात् फागुन २३ गते हुने छ । निर्वाचनको परिणाम १० मार्चमा सार्वजनिक हुने छ ।
निर्वाचन सुरु हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड नियमको पालना गर्दै मतदानमा सहभागी हुन अपिल गरेका छन् । उनले भनेका छन्, ‘लोकतन्त्रको यस पावन पर्वमा सहभागी हुनुस् । याद राख्नुहोला, पहिले मतदान अनि मात्र जलपान ।’
उत्तर प्रदेशमा यसअघि सन् २०१७ मा विधानसभा निर्वाचन भएको थियो । त्यतिबेला भारतीय जनता पार्टी (भाजपा)ले कूल ५८ मध्ये ५३ सिट जितेको थियो । त्यसपछि भाजपाका नेता योगी आदित्यनाथ मुख्यमन्त्री बनेका थिए ।
यसपटक अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) र अजित सिंह नेतृत्वको राष्ट्रिय लोक दल (आरएलडी)ले भाजपाविरुद्ध गठबन्धन गरेका छन् । यो निर्वाचनबाट उत्तर प्रदेशको मुख्यमन्त्री पदमा को पुग्ला भन्ने चासो छ ।
प्रतिक्रिया दिनुहोस्