कार्यकाल सकिनैलाग्दा चितवनका ४ नगरपालिकाले थाले फोहोर व्यवस्थापनको संयुक्त पहल

चितवन । पूर्वी चितवनका चारवटा नगरपालिकाहरु मिलेर फोहोर व्यवस्थापनको दिगो पहल अगाडि बढाएका छन् ।

पाँच वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेका बेला पूर्वी चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाले संयुक्त रुपमा फोहोर व्यवस्थापनको तयारी अगाडि बढाएका हुन् ।

यी नगरपालिकाहरुले जर्मनी र कोरियन दूतावासमार्फत जर्मनीको एक संस्था भिष्तारा इन्टरनेशनलसँगको सहकार्यमा सबै नगरपालिकाको पायक पर्ने ठाउँमा फोहोर व्यवस्थापनको प्रक्रिया थालेका हुन् । त्यसका लागि सो संस्थाले प्रारम्भिक समझदारीका लागि पत्र पठाएपछि स्थानीय तहका प्रमुखहरुले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेर पठाएका छन् ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको समन्वयमा खैरहनी नगरपालिकामा चार स्थानीय तहबीच बैठक बसेर प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेर पठाइएको छ । प्रारम्भिक समझदारी पत्रमा रत्ननगरका मेयर नारायण वन, खैरहनीका मेयर लालमणि चौधरी, राप्तीका मेयर प्रभा बराल र कालिकाका मेयर खुमनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यसअघि सौराहामा पनि चारपालिका र सो संस्थाका प्रतिनिधिबीच छलफल भएको थियो । हस्ताक्षरको प्रतिउत्तर आएपछि काठमाडौंमा जर्मनीका राजदूतसहित बैठक बसेर थप प्रक्रिया अगाडि बढाइने जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले बताए ।

भिष्तारा इन्टरनेशनलले आधुनिक प्रविधिको मेसिन प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने जनाएको छ । संकलित फोहोर सोझै मेसिनमा हालेपछि आफैं वर्गीकरण हुने हुँदा व्यवस्थापनमा सहज हुने डल्लाकोटीले बताए । त्यस्तो प्रविधिका लागि झण्डै ७५ करोड रुपैयाँ लागत लाग्ने जनाइएको छ ।

३३ प्रतिशत रकम चार नगरपालिकाको हुनेछ भने बाँकी लगानी दूतावासमार्फत कम्पनीले गर्ने जनाइएको छ । जग्गा भने पालिकाले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । खैरहनी र रत्ननगर मध्ये एक ठाउँमा फोहोर व्यवस्थापनको प्लान्ट रहने डल्लाकोटीले जानकारी दिए ।

सो कम्पनीले भारतको दिल्लीमा गरिरहेको फोहोर व्यवस्थापनको काम हेर्न जाने कार्यक्रम समेत तय भएको डल्लाकोटीले बताए ।

रत्ननगर, खैरहनी र राप्तीले दैनिक रूपमा फोहोर संकलन गर्दै आएका छन् भने कालिकाले व्यवस्थापनका लागि ठाउँ नपाउँदा उठाउन सकेको छैन । रत्ननगरमा दैनिक २५ टन, खैरहनीमा दैनिक ६ टन, राप्तीमा दैनिक २ टन फोहोर निस्कने गरेको सम्वन्धित पालिकाको भनाइ छ ।

२८,माघ.२०७८,शुक्रबार ०९:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्