बैवाहिक बलात्कारमा श्रीमानलाई साढे तीन वर्ष कैद

डोटी । बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।

अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफूविरुद्ध मुद्धा गरेको आक्रोशमा ‘तेरो जिन्दगी बर्बाद बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक यातना दिन सुरु गरेका पीडितको भनाइ छ । त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालत अछाममा पीडितका साक्षीका रुपमा छिमेकीहरुले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी वयान दिएका थिए । तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए ।

०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितले जबर्जस्ती करणी गरेको भन्ने बकपत्र गरे पनि जबर्जस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी पीडितका श्रीमानलाई सफाइ दिएको थियो ।

सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोंकमा कुटपिट गरी यातना दिई जबरजस्ती करणी गरेको तथ्य जाहेरी दरखास्त, पीडित र साक्षीको बकपत्र एवं शारीरिक परीक्षण लगायतका प्रमाणबाट पुष्टि भएको भन्दै कैदको फैसला गरेको हो ।

विद्यमान कानून अनुसार एउटा कसूर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसूर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म थप सजाय हुने भएकोले यस मुद्दामा तीन बर्ष ६ महिना कैद तोकिएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।

३,फाल्गुन.२०७८,मंगलवार १३:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्