
काठमाडौं । श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज भएको छ ।
मुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा रहेको कार्यदलले समिति खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रिरिषदले मुख्यसचिव वैरागीको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका सचिवहरु सम्मिलित कार्यदललाई समिति खारेज गर्ने वा नगर्नेबारे निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको थियो ।
कार्यदलले गत मंसिर १९ गतेकै बैठकबाट न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने निर्णय गरेको जनाएको छ ।
समितिका अध्यक्ष राजेन्द्र अर्याललाई पत्र पठाउदै समिति खारेज गर्ने निर्णय भएकोले समिति बुझबुझारथ गर्न निर्देशन दिईसकिएको मुख्यसचिव सचिवालय स्रोतले जनाएको छ ।
समितिका अध्यक्ष अर्यालले समिति खारेज भएको पत्र प्राप्त गरेको बताए । उनले नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला संस्थासँग छलफलसमेत नगरेका जानकारी आफूले पाएको बताए ।
श्रमजीवी पत्रकार ऐनको प्रबन्ध अनुसार गठन हुँदै आएको समितिले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी सरकारलाई सिफारिस गर्दै आएपनि पछिल्लो समय यसको आवश्यकता, औचित्यता र प्रभावकारिताबारे सोच्नुपर्ने बताईदै आइएको थियो ।
प्रतिक्रिया दिनुहोस्