
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभामा छलफल हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।
‘यत्रो महत्वपूर्ण राष्ट्रिय विषयमा नेपाली जनताबाट निर्वाचित हामी जनप्रतिनिधिले एमसीसीका ती दफाहरु राख्न त पाउनुपर्यो नि, जनताले संसदमार्फत थाहा पाउनुपर्यो नि’ उनले भने ।
नेता रावलले कतै संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भनेर आफूले विगतमा पनि प्रश्न उठाएको बताए । हाल रावलकै दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । उनले संसद अवरोधकै बीच सरकारले ल्याएका कतिपय प्रस्ताव पारित गर्ने तर महत्वपूर्ण विषयमा छलफल नगरी पारित गर्ने षड्यन्त्र भएको बताए ।
‘नेपाल सरकारका कतिपय कुराहरु खुरुखुरु पारित भएर जाने । राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतासँग जोडिएको यत्रो संवेदनशील विषय, नेपाली जनताको सरोकारको विषयमा छलफल गर्न नपाउनु उचित होइन’ उनले भने ।
एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै नेता रावलले आफूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए ।
‘मैले भनेको कुरा यो दफामा छैन भन्न कसैले सक्नुभएको छ ? शेरबहादुरजीले भन्न सक्नुभएको छ, उहाँका प्रवक्ता र महाप्रवक्ताले भन्न सक्नुभएको छ ?’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्