काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशित

4.38K
shares
khanepani bord

काठमाडौं । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ ।

साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरेका छन् ।

कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन् ।

केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन् । तिनलाई देवनागरिक लिपिको परम्पारगत वार्णिक प्रणालीका क्रममा अर्थ्याइएको छ । शब्दहरुको प्रयोगस्थल निर्देश हेर्दा अधिकांश सूक्तिमय काव्यबाट लिइएको छ ।

यो शब्दकोश विद्यार्थी, प्राध्यापकका लागि मात्र नभई अन्वेषक, अनुसन्धाताका लागि अन्वेषणको माध्यम बनेको साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले जानकारी दिए ।

घिमिरेले भने, ‘नेपाली भाषामा प्रयोग भएका संस्कृतका शब्दहरु कसरी बने ? भन्ने जिज्ञासा सबैलाई हुने नै भयो । यस कोशभित्र ३५ हजार शब्द मूल शब्दको व्युत्पत्ति छ, २ हजार पारिभाषिक शब्द छन् । व्युत्पत्तिमूलक भने पनि संस्कृत मात्रै छैन । उहाँले धेरै ग्रन्थहरु अध्ययन गरेर त्यो शब्द कहाँ प्रयोग भएको छ र कुन अर्थमा प्रयोग भएको छ भन्ने उदाहरण राख्नुभएको छ । शब्दकोश १४ सय २० पृष्ठको छ । यो पाठकहरुका लागि अथवा अनुसन्धाताका लागि बहुमूल्य ग्रन्थ सावित हुनेछ भन्ने हामीले आशा गरेका छौँ ।’

पूर्वसचिव एवं संस्कृत वाङ्मयका ज्ञाता कृष्ण ज्ञवालीले तत्सम शब्दहरुको निर्माण प्रक्रियाबारे शब्दकोशमा विस्तृत उल्लेख गरिएको बताए । यो कोष भाषाको क्षेत्रमा चासो राख्ने अध्येता, अनुसन्धाता र सरकारी कार्यालयहरुमा शुद्ध नेपाली शब्द राख्न रुचाउनेहरुका लागि अत्यन्तै उपयोगी भएको टिप्पणी गरे ।

‘यसमा शब्दहरुको व्युत्पत्ति गरिएको छ । व्युत्पत्ति भनेको चिरफार हो । संस्कृतका शब्दहरु नेपाली भाषामा प्रशस्त छन् । तिनलाई धेरैजसो तत्सम अर्थात् संस्कृतमा जसरी प्रयोग गरिन्थे, त्यसै गरी प्रयोग गरिने, त्यसमा कुनै फेरबदल नगरिने हिसावले तत्सम रुपमा प्रयोग गरिन्छन् ।’ उनले भने, ‘केही शब्दहरु तद्भवीकरण भएका छन्, अर्थात् नेपालीमा प्रयोग गर्दा नेपाली लवजमा थोरै परिवर्तन गरेर उच्चारण गरिने खालका बनेका छन् । ती सबै तत्सम र तद्भव शब्दहरुको मूल संस्कृत हो । ’

पूर्वसचिव ज्ञवालीले नेपाली भाषाबाहेक पनि किराँती, लिम्बू, मगर, गुरुङ, तामाङ भाषाहरुमा संस्कृत शब्दहरु प्रयोगमा ल्याइएकाले ती शब्दहरुलाई समेत समावेश गरी आगामी संस्करणमा प्रकाशन गर्न सुझाव दिए ।

प्राध्यापक ढुङ्गानाले झन्डै १० वर्ष लगाएर तयार पारेको कोशमा सांस्कृतिक पक्ष, तीर्थस्थल, देवस्थल, वेदवेदाङ्ग, उपनिषद्, रामायण, महाभारत, दर्शन, पुराण, काव्यशास्त्र, योगशास्त्र, आयुर्वेद, कला, नीतिशास्त्र, विभिन्न सम्प्रदाय र तिनका विशेषता, वाङ्मयका विविध शाखा र विकासक्रम आदि समावेश छन् ।

khanepani