वैदेशिक रोजगार बोर्ड पनि एनपीआईमा आबद्ध

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडिइ भुक्तानीहरु पूर्ण स्वचालितरुपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआइै अन्तर्गतको प्रणालीसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ ।

यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरुको क्षतिपूर्तीको भुक्तानी, भेण्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछ ।

सम्झौता अघि सम्पूर्ण भुक्तानी कारोबारहरु चेकमार्फत गरिने गरिन्थ्यो । यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने प्रयोजनले बैदेशिक रोजगारबोर्डको स्थापना गरेको हो ।

आफ्ना विभिन्न प्रकिया तथा सेवाहरु डिजिटाइज गर्ने क्रममा बोर्डले नीतिगत सुधार र व्यवस्था गर्दै आएको छ ।

५,फाल्गुन.२०७८,बिहीबार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्