सत्तागठबन्धनका एमसीसीविरोधी नेताको बैठक सकियो

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताबीच बसेको बैठक सकिएको छ । बैठकमा भएको कुराकानीबारे नेताहरुले मुख खोल्न चाहेनन् ।

यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायत नेताबीच बैठक बसेको थियो । माओवादी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बैठक बसेको हो ।

केहीबेरमा सत्तागठबन्धनको बैठक बस्दैछ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

सत्तागठबन्धनको हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।

पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको संकेत गरेको छ ।

६,फाल्गुन.२०७८,शुक्रबार १०:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्