एमसीसीबारे सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । हिजोको बैठकमा सहमति जुट्न नसकेपछि आजका लागि बैठक राखिएको हो । आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना भने न्यून छ ।

सत्तागठबन्धनको बैठकअघि गठबन्धनमा आवद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता छिटोभन्दा छिटो संसदबाट अनुमोन गराउन चाहे पनि सत्तारुढ माओवादी केन्द्र, नेकपा एस र जसपाले सहमति दिएका छैनन् ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । नेकपा एस र जसपा पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छ ।

यद्यपि, नेकपा एसका अध्यक्ष माधव नेपाललाई एमसीसीमा सहमति दिएरै भए पनि गठबन्धन जोगाउन निकटका नेताहरुले दबाब दिएका छन् । र जसपाभित्र पनि एमसीसीबारे नेताहरुको एकमत छैन ।

हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।

आजै १ बजेका लागि संसद बैठक पनि डाकिएको छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

६,फाल्गुन.२०७८,शुक्रबार १०:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्