२ वर्ष ढिला गरी थालियो प्रसूति गृह जाने सडकमा कालोपत्रे

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह जाने सडकको कालोपत्रे थालिएको छ । निर्धारित सयमभन्दा करिब २ वर्ष ढिला गरेर सडक कालोपत्रे गर्न थालिएको हो ।

काठमाडौं महानगरपालिकाले करिब ४ करोड २० लाख रुपैयाँमा यो सडक निर्माणको कँडेल निर्माण सेवालाई ठेक्का लगाएको थियो । तर, काममा ढिलाइ भएपछि स्वास्थ्यकर्मी, गर्भवति, सुत्केरी, बिरामी र उनीहरुका कुरुवा तथा आफन्तसहित स्थानीयहरु प्रभावित भएका थिए ।

बाक्लो चलहपहल भइरहने सडक धुलो र हिलोको अखडा बनेको थियो । नर्भिक हस्पिटल समेत रहेको यो सडकमा सानो झरी पर्नासाथ हिलोको साम्राज्य खडा हुन्थ्यो भने घाम लागेपछि धुलो उडेर हैरानी पर्थ्यो ।

बिग्रिएको सडक बनाउन लामो सयमदेखि बेवास्ता गरिएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । २०७७को असारमै सडक कालोपत्रे गर्न खोजिए पनि बिजुलीको तार बिछ्याउने र खानेपानीको पाइप तथा ढल हाल्ने कामका कारण थप ढिलाइ भएको महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले बताए ।

समयमै सडक नबन्दा साना सवारी साधन ठाउँ-ठाउँमा फस्ने गरेका थिए भने मोटरसाइकल समेत चिप्लिने गरेका थिए । यसले अस्पताल क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढाएको थियो ।

‘अब एक हप्ताभित्रै सडक तयार गरिसक्छौं,’ थापाले भने,’काममा केही ढिलाइ भयो, अब लामो सयम लाग्दैन ।’

६,फाल्गुन.२०७८,शुक्रबार ११:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्